इटालियन सिरी ए

इन्टरको जित यात्रामा पूर्णविराम

मिलान । एट्लान्टासँग गोलरहित बराबरीमा रोकिएसँगै साविकको विजेता इन्टर मिलानको इटालियन सिरी ‘ए’ मा लगातार आठ जितको शृंखलामा पूर्णविराम लागेको छ ।

इन्टरले गत साता इटालियन सुपर कपको उपाधि जितेको थियो । एट्लान्टासँगको बराबरीपछि इन्टरले शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ ।

दोस्रो हाफमा इडेन जेकोले इन्टरलाई खेलमा अघि बढाउने सुनौलो अवसर खेर फाले । जारी सिजन इन्टरले गोल खाता नखोलेको यो सिरी ‘ए’ मा पहिलो खेल हो ।

२१ खेलको समाप्तीमा इन्टर ५० अंकसहित शीर्ष स्थानमा छ । समान खेलमा ४८ अंक जोडेको एसी मिलान दास्रो स्थानमा छ । तेस्रो स्थानको नेपोलीको ४३, चौथो स्थानको एट्लान्टाको ४२ र पाँचौ स्थानको युभेन्टसको ४१ अंक छ ।

२६औं मिनेटमा एलेक्सिस सान्चेजको प्रहार एट्लान्टाका  मुस्सोले पञ्च गर्दै टोलीको संकट टारेका थिए ।

३९औं मिनेटमा एट्लान्टाका माटियो पेस्सिनाको प्रहार इन्टरका गोलकिपर सामिर हान्डानोभिचले विफल पारेका थिए । 

इन्टरले बुधबार कोपा इटालियनको अन्तिम १६ का लागि इम्पोलीको भ्रमण गर्दैछ भने एट्लान्टाले शनिबार सिरी ‘ए’ मा लाजियोको भ्रमण गर्दैैछ ।