इङ्लिस प्रिमियर लिग

सहज जितसहित लिभरपुल दोस्रो स्थानमा

लन्डन ।  ब्रेन्टफोर्डलाई  घरेलु मैदान एन्फिल्डमा ३-० ले निराश पार्दैै लिभरपुल आइतबार इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

४४औं मिनेटमा फाबिन्होले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । जारी सिजन फाबिन्होको यो पहिलो गोल हो । ६९औं मिनेटमा एलेक्स अक्सलेड चेम्बरलियनले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

त्यसको आठ मिनेटपछि ताकुमी मिनामिनोले लिभरपुलका लागि तेस्रो गोल गरे ।

लिभरपुल २१ खेलमा ४५ अंकसहित दोस्रो स्थानमा छ, जुन शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ११ अंक कम हो । यद्धपी लिभरपुलले सिटी भन्दा एक खेल कम खेलेको छ । 

चेल्सी २२ खेलमा ४३ अंकसहित तेस्रो स्थानमा झरेको छ । चेल्सी शनिबार सिटीसँग १-० ले पराजित भएको थियो । 

लिभरपुल गत साता इङ्लिस लिग कपको सेमिफाइनल पहिलो लेगमा १० खेलाडीमा सीमित आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

सेमिफाइनल दोस्रो लेगमा लिभरपुलले बिहीबार आर्सनलको सामना गर्दैछ । प्रिमियर लिगमा भने लिभरपुलले यसै साता क्रिस्टल प्यालेसको भ्रमण गर्दैछ ।

२३ अंकसहित १४औं स्थानमा बसेको ब्रेन्टफोर्डले भने म्यानचेस्टर युनाइटेडको भ्रमण गर्दैछ ।