स्पेनिस सुपर कोपा

६४ वर्षपछि फाइनलमा भिड्दै रियाल र एथ्लेटिक

मड्रिड । आइतबार राति हुने स्पेनिस सुपर कोपाको फाइलनमा रियाल मड्रिड र एथ्लेटिक क्लब आमनेसामने हुँदैछन् । सिजनको पहिलो उपाधि निश्चित हुने यो फाइनल नेपाली समयअनुसार राति १२: १५ बजे साउदी अरबको किङ्ग फहाद रंगशालामा सुरु हुनेछ ।

स्पेनिस घरेलु फुटबल खेल्ने दुवै टोली वर्षमा कयौं पटक ठोकिन्छन्, आमनेसामने हुन्छन्, भिड्छन् । तर, कुनै पनि प्रतियोगिताको फाइनलमा भने यी दुई टोलीको भेट ६४ वर्षपछि हुन लागेको हो ।

यसअघि अन्तिम पटक एथ्लेटिक क्लब र रियालको भेट सन् १९५८ मा कोपा डेल रेको फाइनलमा भएको थियो । जसमा एथ्लेटिकले बाजी मारेको थियो । स्पेनिस फुटबलमा महारथी दुवै क्लबले हालसम्म शीर्ष डिभिजनबाट बाहिर रहनु परेको छैन । तर, यी दुई टोलीको पछिल्लो ६ दशकसम्म फाइनलमा भने कहिल्यै भेट भएन ।

दुवै टोलीका प्रशिक्षक आइतबार रियादस्थित किङ्ग फहाल रंगशालाको टच लाइनमा भेट हुँदा एक–अर्काप्रति सम्मानको भावनासहित उपस्थित हुनेछन् । किनभने, यी दुई प्रशिक्षक आफ्नो खेल जीवनमा पनि पक्ष भएर आमनेसामने भइसकेका छन् । र, प्रशिक्षकको हकमा पनि बारम्बारको मुकाविला त छँदैछ ।

फाइनलअघि मार्सेलिनो (एथ्लेटिकका प्रशिक्षक) र कार्लो एन्सेलोटी (रियालका प्रशिक्षक)ले रियादमा फोटो सेसनका लागि फोटोसेसन गरे । फोटो सेसनसँगै केहीबेर कुराकानी र मजाकसँगै मुस्कुराउँदै आपसमा शुभकामना पनि बाँडे । उनीहरूलाई आइतबार राति हुने फाइनल कठिन हुने थाहा छ, तर खेल आफ्नो पक्षमा पार्न दुवै प्रशिक्षकले कुनै कसर पनि बाँकी नराख्ने निश्चित नै छ ।

एन्सेलोटीको योजना

आइतबार राति किङ्ग फहादमा एन्सेलोटी बार्सिलोनाविरुद्धको नतिजा दोहोर्याउन चाहन्छन् । बिहीबार राति भएको सुपर कोपाको सेमिफाइनलमा एन्सेलोटीको रियालले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई अतिरिक्त समयमा स्तब्ध पार्दा ‘काउन्टर अट्याक’ प्रमुख रणनीति थियो । बार्सिलोनाविरुद्ध गरेका तीन गोलमध्ये अन्तिम गोल एन्सेलोटीले चाहेको गोल थियो ।

यद्यपि, एन्सेलोटीले फाइनलका लागि आफूसँग पृथक योजना रहेको बताइसकेका छन् । र, काउन्टर अट्याकको रणनीति जबरजस्ती खेलाडीमा नथोपर्नेसमेत उनले स्पष्ट पारिसकेका छन् ।

मार्सेलिनाको इच्छा

मार्सेलिनो आफ्ना खेलाडीको क्षमता, दक्षता देखाएर एथ्लेटिक क्लब के हो ? र खेलाडीका लागि क्लब, समर्थक र बिल्बाओ सिटी केहो भन्ने देखाउन चाहन्छन् । फाइनलमा पुग्न बलियो प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई पराजित गरिसकेको मार्सेलिनोको टोली १९५० पछि पहिलो पटक स्पेनिस सुपर कोपा जित्न र ‘सेलिब्रेट’ गर्न चाहन्छ ।

रियालको टोलीबाट ड्यानी कार्भाजल, जिजस भालेहो, मार्को एसेन्सियो, ग्यारेथ बेल र म्यारियानो डियाज आजको खेलमा उपलब्ध हुनेछैनन् । रियादमा ३० हजार समर्थक अगाडि रियाल र एथ्लेटिक क्लब उपाधि भिडन्तका लागि तयार छन् ।