सहिद स्मारक ए डिभिजन लिग

मछिन्द्रलाई अग्रता बढाउने अवसर

काठमाडौं । निकटतम प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएसँगै लिग लिडर मछिन्द्रसामु आइतबार हुने खेलमा शीर्ष स्थानको अग्रता बढाएर ४ अंकमा पुर्‍याउने मौका छ ।

आइतबार दिउँसो १ बजे दशरथ रंगशालामा ब्रिगेड ब्वाइज क्लबविरुद्ध मैदानमा उत्रिँदा मछिन्द्रको प्रमुख लक्ष्य जित निकाल्दै शीर्ष स्थानमा अग्रता मजबुत बनाउने हुनेछ ।

साविक विजेतासमेत रहेको मछिन्द्रले आजको खेलमा जित निकाल्न सके शीर्ष स्थानमा २३ अंकसहित ४ अंकको स्पष्ट अग्रता बनाउने छ । जारी लिगमा अपराजित मछिन्द्र यसअघि नै एएफसी कप छनोटमा पुगिसकेको छ ।

आजको खेलमा जित निकाल्नसके मछिन्द्रले लिग जित्ने सम्भावना प्रवल रहने छ । यस्तै ८ खेलबाट ६ अंक जोडेर रेलिगेसन जोन नजिकै रहेको ब्रिगेड पनि आज मछिन्द्रलाई पराजित गर्दै १०औं स्थानमा उक्लिन चाहन्छ ।

आइतबार नै हुने दोस्रो खेलमा विभागीय नेपाल पुलिस क्लबले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा पौने ५ बजे सुरु हुने खेलमा दुबै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिने छन् ।

जारी लिगमा पुलिस ८ खेलबाट ७ अंकसहित ११ औं स्थानमा छ । च्यासल भने समान खेलबाट ५ अंकसहित १३औं स्थानमा छ ।

१४ क्लब सहभागी लिगमा पुछारका २ टोली भने बी डिभिजन लिगमा घटुवा हुनेछन् ।