एल क्लासिको

बार्सिलोनालाई हराउँदै रियाल फाइनलमा

मड्रिड । फेडेरिको भलभर्देको निर्णायक गोलप्रेरित रियाल मड्रिड चिरप्रतिद्वन्दी बार्सिलोनालाई अतिरिक्त समयमा २-३ गोलको नतिजामा पराजित गर्दै स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बुधबार राति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा भ्रमणकारी रियालले बाजी मार्यो ।

रोमाञ्चक खेलको २५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि, पहिलो हाफको खेल सकिन ४ मिनेट बाँकी रहँदा बार्सिलोनाका ल्युक डी जोङले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

पहिलो गोलमा भिनिसियसका लागि पास दिएका करिब बेन्जिमाले ७२औं मिनेटमा गोल गर्दै पुनः रियाललाई अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा आन्सु फातीले गोल गरेसँगै खेल पुनः बराबरीको अवस्थामा पुगेको थियो ।

निर्धारित समयमा खेल बराबरी भएसँगै नतिजा अतिरिक्त समयमार्फत लिइएको थियो । थप गरिएको ३० मिनेट समयमा रियालले बाजी मार्यो । रोडरिगोले दिएको पासमा ९८औं मिनेटमा भलभर्देले उत्कृष्ट गोल गरेसँगै रियालले जित सुनिश्चित गर्यो ।

जितसँगै फाइनलमा पुगेको रियालले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग १७ जनवरीमा खेल्ने छ । दोस्रो सेमिफाइनलमा एथ्लेटिको मड्रिड र एथ्लेटिको बिल्बाओ भिड्ने छन् ।