इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगमा वेस्ट ह्याम विजयी

लन्डन । जारोड बोवेनको दुई गोलप्रेरित वेस्ट ह्याम युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार राति नर्विच सिटीलाई २-० गोलको नतिजामा पराजित गरेको छ । वेस्ट ह्यामको मैदानमा भएको खेलको ३६औं मिनेटमा पाएको पेनाल्टी बोवेन चुकेपछि घरेलु टोलीले अग्रता लिने मौका गुमाएको थियो ।

यद्यपि, पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा भ्लादिमिर कौफलको पासलाई गोलमा परिणत गर्दै बोवेनले वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । भ्रमणकारी नर्विचमाथि हाबी बनेको वेस्ट ह्यामका लागि निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा बोवेनले व्यक्तिगत दोस्रो गोल गर्दै २-० को जित सुनिश्चित गरे ।

जितसँगै २१ खेलबाट ३७ अंक जोडेको वेस्ट ह्याम अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ५३ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । २१ खेलबाट ४३ अंक जोडेको चेल्सी दोस्रो तथा २० खेलमा ४२ अंक निकालेको लिभरपुल तेस्रो स्थानमा छ ।

पराजित नर्विच २० खेलबाट १० अंक जोडेर लिग तालिकाको पुछारमा छ ।