इङ्लिस प्रिमियर लिग

म कतारमा हुने विश्व कप हेर्दिन: एरिक क्यान्टोना

लन्डन । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी एरिक क्यान्टोनाले यसै वर्षको नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकपका खेल नहेर्ने प्रतिक्रिया दिएका छन् । 

श्रमिकमाथि अत्याचार गरेका भन्दै विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाको प्रतिवेदन सार्वजनिक हुँदा समेत कतारले आफूहरुमाथि नियोजित आरोप लगाइएको भन्दै त्यसको खण्डन गर्दै आएको छ । 

‘मैले कतार विश्वकपको बारेमा केही सोचेकै छैन’, क्यान्टोनाले भने, ‘मलाई यो विश्वकप जस्तो लागेकै छैन । हामीले पछिल्लो एक दशक विश्वकप फुटबलका साथै ओलम्पिक गेम्स पनि सहज वातावरणमा भएको देखेका छौ । तर कतारको अवस्था फरक छ । यो फुटबलका लागि सुहाउँदो राष्ट्र नै होइन । ’

क्यान्टोनाले कतारमा फुटबल भविष्यको सम्भावना नै नदेखेको समेत बताए । 

‘यहाँ पैसालाई मात्र प्राथमिकतमा राखिएको छ र उनीहरुले रंगशाला निर्माणमा खटिएका कामदारमाथि जुन व्यहार गरे, त्यो निकै दयनिय थियो,उनले भने, ’हजारौ कामदारको निधन भैसकेको छ  । हामी भने त्यही भुमीमा अझै विश्वकप फुटबलको मज्जा लिने प्रतिक्षामा छौ ।'

‘फुटबल पनि एक व्यवसाय नै हो र सबै यसबाट फाइदा उठाउन चाहन्छन्’,क्यान्टोनाले भने, कतारले पनि जनताको भोटमा विश्वकप आयोजना अधिकार पाएको होइन । कतारले पनि आर्थिक चलखेलमै विश्वकप आयोजनाको अधिकार पाएको हो । उनीहरुले कामदारको जीवनलाई पैसासँग तुलना गरिरहेका छन् र कामदारमाथि उनीहरुको दमन अझै जारी छ । '