म्यानचेस्टर युनाइटेड

हेन्डरसनको क्लब छोड्ने प्रस्ताव अस्वीकार

लन्डन । म्यानचेस्टर युनाइटेडका गोलकिपर डिन हेन्डरसनले क्लब छोड्न गरेको प्रस्ताव अन्तरिम प्रशिक्षक राल्फ रागनिकले अस्वीकार गरेका छन् ।

गत सिजन लोनमा सेफिल्ड युनाइटेडबाट खेलेका हेन्डरसनले उत्कृष्ट प्रदर्शनका बावजुद म्यानचेस्टर युनाइटेडमा पर्याप्त खेल समयका लागि संघर्षरत छन् ।

यसबाट निराश हेन्डरसनले यसै महिना क्लब छोड्न गरेको प्रस्तावमा जर्मन प्रशिक्षक रागनिकले उनलाई बेच्ने मनसाय नरहेको प्रतिकृया दिएका हुन् ।

२४ वर्षीय इङ्लिस गोलकिपर हेन्डरसनले यस सिजन युनाइटेडबाट दुई खेलमा मात्रै मौका पाएका छन् ।

‘केही हप्ताअघि उनले मलाई क्लब छोड्ने प्रस्ताव गरेका थिए । तर, मैले सिजनको अन्त्यसम्म क्लबमै बस्न भनेको छु,’ रागनिकले भने, ‘गोलकिपरसँग हामी खुसी छौं र हेन्डरसनको निर्णय ममाथि निर्भर हुन्छ भने म उनको प्रस्ताव अस्वीकार गर्छु ।’

युनाइटेडसँग हेन्डरसनको सम्झौता सन् २०२५ मा सकिने छ ।