सहिद स्मारक ए डिभिजन लिग

लिगको आठौं चरण सकिँदा १ सय ७ गोल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबारसम्म आठौं चरणका खेल सकिँदा ५६ खेलमा १.९१ को औसतमा गोल भएका छन् ।

लिगको जारी सिजनको करिब आधाभन्दा धेरै खेल सकिँदासम्म कुल गोलसंख्या एक सय सात पुगेको छ । जसमध्ये दुई ह्याट्रिक भएका छन् ।

ह्याट्रिक गर्नेमा दुवै नाइजेरियन खेलाडी छन् । जारी लिगको पहिलो ह्याट्रिक सातदोबाटो युथ क्लबका अजयी मार्टिन्सले सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबविरुद्ध गरेका थिए ।

यस्तै, दोस्रो ह्याट्रिक मनाङ मर्स्याङ्दी क्लबका फरवार्ड ओलावाले आफिजले आठौं चरणमै च्यासल युथ क्लबविरुद्ध पोखरा रंगशालामा गरेका थिए ।
हाल सम्म लिगमा सहभागी १४ क्लबका ५८ खेलाडीले गोल गरेका छन् । जसमध्ये सबै भन्दा धेरै गोल गर्ने क्लब मनाङ हो । अंक तालिकाको दोस्रो स्थानमा रहेको मनाङले १५ गोल गर्दै चार गोल खाएको छ । मनाङले गरेका कुल १५ गोल ६ खेलाडीले गरेका छन् ।

आठौं चरणको समाप्तिसम्म धेरै गोल खाने र सबै भन्दा कम गोल गर्ने टोली च्यासल बनेको छ । च्यासलले १५ गोल खाएको छ भने चार गोल मात्रै गरेको छ ।

लिग लिडर मछिन्द्रले जारी लिगको आठ खेलमा मात्र ९ गोल गरेको छ । स्टार खेलाडीले भरिएको मछिन्द्र गोलका लागि संघर्षरत देखिन्छ । हालसम्म मछिन्द्रका लागि सुनिल बलले सर्वाधिक पाँच गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचीमा मनाङका ओलावालेसँगै शीर्ष स्थानमा छन् ।

त्यस्तै, मछिन्द्रका लागि रक्षक रञ्जित धिमाल, स्टाइकर विमल घर्ती मगर र नुर्लान नोभ्रुजोभले समान एक गोल गरेका छन् । एक गोल मछिन्द्रले आत्मघाति गोलकोरूपमा उपहार पाएको थियो । आठौं चरणको समाप्तिसम्म चार आत्मघाति गोल भएका छन् ।