अफ्रिका कप अफ नेसन्स

अफ्रिका कप अफ नेसन्समा आज चार खेल

याउन्डे । आइतबारदेखि क्यामरुनका सुरु भएको अफ्रिका कप अफ नेसन्समा सोमबार चार खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत सोमबार नेपाली समयअनुसार साँझ ६ः ४५ बजे हुने खेलमा सेनेगल र जिम्बावे भिड्ने छन् । कोकोङ रंगशालामा हुने यो खेलमा जीत निकाल्दै दुवै टोली प्रतियोगिताको सुखद् सुरुआत गर्ने योजनामा छन् ।

यस्तै, समूह ‘बी’अन्तर्गत सोमबार राति ९ः ४५ बजे सुरु हुने खेलमा गुयना र मलावी आमनेसामने हुँदैछन् । सोही समयमा हुने समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा मोरोक्कोले घानाको सामना गर्दैछ । नेपाली समयअनसुसार राति १२ः ४५ बजे सुरु हुने खेलमा कोमोरोस र गाबोन आमनेसामने हुनेछन् ।

आइतबार भएको उद्घाटन खेलमा आयोजक क्यामरुनले बुर्किना फासोलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । समूह ए अन्तर्गत नै भएको अर्को खेलमा इथियोपिया केप भर्डसँग १–० को नतिजामा पराजित भएको थियो ।