सहिद स्मारक ‘ए’ डिभिजन लिग

रेलिगेशनको दबाब बढ्योः सनोज श्रेष्ठ


काठमाडौं ।  ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक सनोज श्रेष्ठले आफ्नो टोलीमाथि रेलिगेशनको दबाब बढेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको  आठौं चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइजले पुलिससँग १-१ को बराबरी खेलेको हो ।

ब्रिगेड ब्वाइज क्लब समान खेलमा ६ अंक बटुल्दै १२औं स्थानमा छ । १३ औं स्थानको च्यासल युथ क्लबको पाँच अंक छ भने १४औं स्थानको फ्रेन्डसको मात्र तीन अंक छ ।

‘हामीलाई रेलिगेशनको दबाब काम गर्न पनि आज तीन अंक आवश्यक थियो तर सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयौ’,श्रेष्ठले भने, ‘हामीलाई तालिकामा स्थान सुधार गर्ने अवसर थियो तर हामी सफल भएनौ ।’

श्रेष्ठले कप्तान अनिल गुरुङ टोलीमा फर्कदै पूरा समय मैदानमा बिताएकाले त्यो टोलीका लागि सकारात्मक भएको बताए ।

‘नतिजा हाम्रो पक्षमा आएन तर प्रदर्शनबाट भने म सन्तुष्ट छु’; श्रेष्ठले भने ।