सहिद स्मारक ‘ए’ डिभिजन लिग

पुलिस र ब्रिगेड ब्वाइजले अंक बाँडे

काठमाडौं । नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ए डिभिजन लिगमा १–१ को बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न आठौं चरणको अन्तिम खेलमा अंक बाँडेसँगै  दुवै टोलीको तालिकामा स्थान सुधार गर्ने लक्ष्यले पूर्णता पाएन । 

पुलिस आठ खेलमा आठ अंकसहित ११औं स्थानमा छ भने ब्रिगेड ब्वाइज क्लब समान खेलमा ६ अंक बटुल्दै १२औं स्थानमा छ ।

खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर लेखीको प्रहार पुलिसका गोलकिपर सत्रुघनकुमार चौधरीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बललाई रोशनले जाली चुमाएका थिए ।

तर ब्रिगेड ब्वाइजले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । त्यसको दुई मिनेटपछि नै पुलिस खेलमा फर्कियो । रक्षक बुद्ध तामाङको फ्रिकक गोलमा पुलिस खेलमा फर्किएको थियो ।

१३औं मिनेटमा रुडी जोनाथन एमबाकोपको फ्रिकक बाहिरिदा ब्रिगेड ब्वाइजले अग्रता दिने अवसर गुमायो ।

२५औं मिनेटमा निरकुमार राईको कर्नरमा सन्तोष हेमरनले गरेको हेडर गोलपोस्ट भन्दामाथिबाट बाहिरदाँ पुलिसले अग्रता दिने अवसर खेर फाल्यो ।

त्यसको पाँच मिनेटपछि निरकुमारको प्रहार क्रसबारमा लागेर फर्कदा पुलिसले गोलको सनौलो अवसर गुमायो । 

५२औं मिनेटमा पुलिसका रवि पासवानले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । 

५५औं मिनेटमा ब्रिगेड ब्वाइजका विपिन बस्नेतले गरेको प्रहार बाहिरियो ।

७६औं मिनेटमा रुडी जोनाथनको प्रहार क्रसबारमा लागेर फर्किँदा ब्रिगेड ब्वाइजले अग्रता लिने अवसर गुमायो ।

९०औं मिनेटमा रेफ्रीमाथि अपशब्द प्रयोग गरेको भन्दै रे्फ्री विश्वास कार्कीले ब्रिगेड ब्वाइजका म्यानेजर अरबिन्द गुरुङले रातो कार्डको दर्शन गराएका थिए ।