अफ्रिका कप अफ नेसन्स

क्यामरुन र केप भार्डीको सुखद सुरुआत

याउन्डे । क्यामरुनले बुर्किना फासोमाथि २-१ को जितसहित अफ्रिका कप अफ नेसन्समा सुखद सुरुआत गरेको छ ।

समूह ‘ए’ अन्तर्गत खेलमा अग्रता जोगाउन नसक्दा बुर्किना फासोको विजयी सुरुआत गर्ने लक्ष्यले पूर्णता पाएन । 

२४औं मिनेटमा गुत्साभो संगारेले गरेको गोलमा बुर्किना फासोले अग्रता लिएको थियो । ४०औं मिनेटमा कप्तान भिसेन्ट अवौबखारले पेनाल्टीको सुदुपयोग गर्दै क्यामरुनलाई खेलमा फर्काएका थिए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अवौबखारले पेनाल्टी गोलमा क्यामरुनलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा गोलकिपर आन्द्रे ओनानाले बुर्किना फासोको दुई उत्कृष्ट प्रहार रोक्दै क्यामनरुनको संकट टारेका थिए । 

त्यस्तै समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा केप भार्डीले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको इथियोपियालाई १-० ले हरायो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जुलियो ताभारेसले गरेको गोल केप भार्डीको जितमा पर्याप्त बन्यो ।