सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा थ्री स्टार र हिमालयन शेर्पाबीच गोलरहित बराबरी

काठमाडौं । थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत जारी खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी आठौं चरणको खेलमा थ्री स्टारले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन ।

१९औं मिनेटमा निशान खड्कको क्रसमा आयुस घलानको हेड गोलपोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टारले अग्रता लिने अवसर गुमायो ।

३०औं मिनेटमा हेमन्त थापा मगरको कर्नरमा मिडफिल्डर राफेल रिमले गरेको हेडर गोलपोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।

त्यसको पाँच मिनेटपछि संजोक राईको पासमा घनिफो अंशुमाना कोम्हको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो ।

इन्जुरी समयको पहिलो मिनेटमा पूर्णबहादुर गुरुङको प्रहार क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पाले खेलमा अघि बढ्ने अवसर खेर फालेको थियो । 

सात खेलमा ११ अंकसहित हिमालयन शेर्पा पाँचौ स्थानमा छ भने समान खेलमा १० अंक बटुलेको थ्री स्टार छैटौैं स्थानमा छ । 

पछिल्लो खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई २-१ ले हराएको थियो भने हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको थियो ।