म्यानचेस्टर युनाइटेड

रागनिकको शैलीप्रति सम्मान र विश्वास गर्न मग्वायरको जोड

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायरले क्लबका सबै खेलाडीहरुलाई प्रशिक्षक राल्फ रागनिकको शैलीमा सम्मान र विश्वास गर्न जोड गरेका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले युनाइटेडका केही खेलाडीले रागनिक र उनको प्रशिक्षण शैलीप्रति असन्तुष्ट रहेको जनाएका थिए ।

‘उनको रणनीति राम्रो छ । उनको शैलीप्रति हाम्रो पूर्ण सम्मान र विश्वास छ । हामी रागनिक र उनको अन्य सहयोगीकाे शैलीअनुसार प्रशिक्षण गर्छाै। तर, पक्कै पनि मध्य सिजनमा टोलीको प्रशिक्षक परिवर्तन हुनुले क्लबमा थप दबाब सिर्जन गर्छ,’ मग्वायरले भने, ‘पछिल्लो सिजन हामी लिगमा दोस्रो थियौं र यस सिजन टोली अझ राम्रो बनेको छ । त्यसैले हामीले सही रुपमा को हौँ देखाउन आवश्यक छ । हामी सबैमा रिस छ र मैदानमा आफ्नो उत्कृष्ट दिन चाहन्छौं ।’

नोभेम्बरमा क्लबका मुख्य प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्तगीमा परेपछि सिजनको अन्त्यसम्मका लागि रागनिक अन्तरिम प्रशिक्षकमा नियुक्त भएका थिए ।

लिगका १९ खेलबाट ३१ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा छ ।