सहिद स्मारक ‘ए’ डिभिजन लिग

थ्री स्टारविरुद्ध हिमालयन शेर्पाः दुवैलाई जित लय कायम राख्ने अवसर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा क्लबको सामना गर्दा  थ्री स्टार क्लब जितको लय कायम राख्न चाहन्छ ।

पहिलो खेलमा च्यासलमाथि जित हात पारेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग स्तब्ध भएको थियो । तेस्रो देखी छैटौ खेल सम्म  थ्री स्टार चार खेलमा मात्र चार अंक बटुलेसँगै दबाबमा आएको थियो । 

सातौ चरणमा जावलाखेल युथ क्लबमाथिको जितले भने थ्री स्टारलाई जितको लयमा फर्काउनुका साथै टोलीको मनोबल पनि उच्च पारेको प्रशिक्षक उज्जन श्रेष्ठ बताउँछन् ।

‘हामीले राम्रो प्रदर्शन गर्दा गर्दै पनि नतिजा आफ्नो पक्षमा पार्न ल्याउन सकिरहेका थिएनौ,’ उज्जनले भने, ‘जावलाखेलविरुद्धको जितपछि टोली लयमा फर्किएको जस्तो लाग्छ । टोलीको मनोबल बढेको छ । आशा छ यो लयले अब बाँकी रहेका अन्य चरणमा निरन्तरता पाउँछ र टोली राम्रो स्थानमा बसेर सिजनको अन्त्य गर्नेछ ।’

उज्जनले हिमालयन शेर्पा क्लब पछिल्लो केही खेलहरुमा उत्कृष्ट लयमा रहे पनि आफ्नो टोली उनीहरुलाई पराजित गर्न सक्षम रहेको बताए ।

‘तयारी राम्रो छ । हामी हिमालयन शेर्पामाथि सुखद नतिजा ल्याउन सक्षम टोली हौ’,उज्जनले भने ।

थ्री स्टार सात खेलमा १० अंकसहित छैटौं स्थानमा छ भने हिमालयन शेर्पा समान खेलमा ११ अंक जोड्दै पाँचौ स्थानमा छ ।

हिमालयन शेर्पाले पछिल्लो तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको छ । त्यसैले थ्री स्टारविरुद्ध पनि हिमालयन शेर्पा जित लयको निरन्तरता चाहन्छ ।