सहिद स्मारक ‘ए’ डिभिजन लिग

शीर्ष स्थानमा रियालको अग्रता कायमै, बार्सिलोना रोकियो

मड्रिड । करिम बेन्जेमाले रियाल मड्रिडबाट आफ्नो गोल संख्या तीन सय पुर्याएको दिन शनिबार कार्लो एन्सेलोट्टीको टोलीले भ्यालेन्सियालाई ४-१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा आठ अंकको अग्रता कायम राखेको छ ।

रियाल गत साता ला लिगामा गेटाफेसँग १-० ले स्तब्ध भएको थियो ।

४३औं मिनेटमा बेन्जेमाले पेनाल्टीको सदुपयोग गर्दा रियालले अग्रता लिएको थियो । ५२औं मिनेटमा भिनिसिस जुनियरले रियालको अग्रता दोब्बर पारेका थिए । ६१औं मिनेटमा जुनियरले व्यत्तिगत दोस्रो गोल गर्दा रियालले ३-० को अग्रता लिएको थियो । 

७६औं मिनेटमा गोन्कालो गुयुडेसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाका लागि गोलअन्तर कम गरेका थिए ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा बेन्जेमाले रियालका लागि चौथो गोल गरे ।

रियाल २१ खेलमा ४९ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको सेभिया भन्दा आठ अंक बढी हो । यद्धपी सेभियाले दुई‍ खेल कम खेलेको छ ।

बार्सिलोना भने ग्रानडासँग १-१ को बराबरीमा रोकिएको छ । ५७औं मिनेटमा लुक डी जोङले बार्सिलोनाका लागि गोल खाता खोलेका थिए । तर खेल सकिन एक मिनेट बाँकी रहँदा ग्रानडाका एन्टोनियोले टोलीलाई खेलमा फर्काए ।