काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत मलेसियाविरुद्धको दोस्रो लेगका लागि नेपालको प्रारम्भिक छनोट टोली घोषणा भएको छ ।
आइतबार नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्काले भियतनाम भ्रमण गरेको टोलीमा १२ खेलाडीलाई थप्दै ३५ जनालाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
भियतनाम भ्रमणमा नअटाएका फरवार्ड समीर तामाङ, अट्याकिङ मिडफिल्डर आदीत्य शाक्य, सेन्ट्रल डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्री र गोलकिपर टिकेन्द्र थापासँगै अन्य ८ खेलाडीलाई बोलाइएको छ ।
भियतनामविरुद्धको दुई लेगका लागि प्रारम्भिक छनोटमै नपरेका अट्याकिङ मिडफिल्डर सृजनराज गोतमसँगै भेट्रान फरवार्डहरु जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठले टोलीमा पुनरागमन जनाएका छन् । यसबाहेक गत जेठमा सम्पन्न नेपाल सुुपर लिग (एनएसएल)को तेस्रो संस्करण काठमाडौं रेजर्सको जर्सीमा देखिएका दीवकार चौधरी र दीपेश गुरुङ अनि झापा एफसीको प्रतिनिधित्व गरेका दीपेश धिमाल टोलीमा परेका छन् ।
यसैगरी जेठमै सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्रशंसनीय प्रदर्शन गरेका मिडफिल्डर सञ्जीव लामा र सेन्टरब्याक शंकर थारु पहिलो पटक टोलीमा अटाएका छन् । विभागीय टोली नेपाल पुलिस क्लबबाट मोफसलका प्रतियोगिता खेल्दै आएका सञ्जीवले बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबबाट खेलेका थिए । उनको टोलीले तेस्रो स्थानमा रहेर लिग टुंगाएको थियो । त्यस्तै शंकरले च्याम्पियन प्लानिङ ब्वाइज क्लबको जर्सी लगाएका थिए ।
एन्फाले शुक्रबार टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको थियो । आजै मात्र खड्काको नेतृत्वमा रहने प्रशिक्षण टोलीमा साहुखल र घिमिरे जोडिएका छन् ।
नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ ।
एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।

