काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगका बारेमा छलफल गर्न १४ क्लबलाई बैठकमा बोलाएको छ ।
आइतबार एन्फाले टेलिफोन संवादमार्फत शीर्ष डिभिजन क्लबहरुलाई कार्तिक १७ गते, दिउँसो २ बजेका लागि बैठकमा बोलाएको हो । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुनेछ ।
फुटबलको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्दै बिहीबार नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सिंहदरबारस्थित मन्त्रालयमा एन्फा र शीर्ष डिभिजन क्लबहरुसँग छुट्टाछुट्टै बैठक गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग एन्फा महासचिव किरण राईले ५० दिनभित्र शीर्ष डिभिजन लिग सुरु गर्ने छलफल भएको कुरा राखेका थिए । चार दिनपछि यसबारे विस्तृत छलफल गर्न एन्फाले मुख्यालयमा १४ क्लबहरुलाई बोलाएको हो ।
एन्फाले गत असोज ६ गते पुसको ९ गतेका लागि प्रस्तावित शीर्ष डिभिजन लिग र रोकिएको एन्फा यु–१६ युथ लिगका बारेमा छलफल गर्न पत्रमार्फत १४ क्लबलाई बैठकमा बोलाएको थियो । तर, आवश्यक तयारी नपुगेको कारण देखाउँदै एन्फाले उक्त बैठक स्थगित गरेको थियो । तीन सातापछि एन्फाले पुनः बैठक बोलाएको हो ।
असोज ६ गते एन्फाले परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै ‘ए’ डिभजिन लिग पुस ९ देखि असार २६ सम्म हुने जानकारी गराएको थियो । एन्फाले देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एन्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर, असोज २४ गते एन्फाले पत्रकार सम्मेलनमार्फत ‘होम एन्ड अवे’ लिग तत्कालका लागि सम्भव नभएको निश्कर्ष निकालेको थियो । जतिबेला एन्फाले शीर्ष डिभिजन लिग नभए राष्ट्रिय लिगको विकल्प रहेको पनि बताएको थियो ।
एन्फाले अहिले ठोस निर्णय गर्न सकिरहेको छैन । गत वैशाख २६ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको वार्षिक साधारणसभामामा ‘ए’ डिभिजन लिग पुस १ देखि जेठ ३१ सम्म हुने गरि क्यालेन्डर सार्वजनिक गरेको थियो । तर, लिगलाई लिएर एन्फा र क्लबहरुबीच बैठक बस्न सकिरहेको छैन ।
यसअघि पनि एन्फाले भदौ ३० का लागि बोलाएको बैठक स्थगित गरेको थियो ।
गत भदौ २३ गते जेनजी आन्दोलनले विकराल रुप लिँदा एन्फाले चलिरहेको यु–१६ युथ लिगसँगै अन्य गतिविधिहरु अनिश्चितकालका लागि स्थगित गरेको थियो । परिमार्जित क्यालेन्डर अनुसार उक्त लिग कार्तिक १७ (भोलि)बाट सुचारु भई मंसिर २ गतेसम्म चल्ने कुरा उल्लेख गरिएको छ । तर, प्रतियोगिता मुखैमा आइपुग्दा एन्फाले यसबारे कुनै निर्णय गर्न सकेको छैन ।
