जर्मन बुन्डेसलिगा

हामी हारको लायक थिएनौंः नगेल्सम्यान

म्युनिख । बन्डेसलिगाअन्तर्गत घरेलु मैदानमै बोरुसिया मोन्चेनग्लाडबाखसँग २-१ ले पराजित भए पनि बायर्न म्युनिखका प्रशिक्षक जुलियन नगेल्सम्यानले आफूहरु हारको लायक नभएको बताएका छन् ।

बायर्न केही मुख्य खेलाडीबीनै मैदान उत्रिएको थियो । बायर्नका म्यानुुअल नुयर, लुकास हर्नान्डेज, ड्यायोट उपामेकानो, लिआने गोरेज्का, अल्फोन्सो डेभिस, किंस्ले कोम्यान र लोरे सानेजस्ता खेलाडी कोभिड १९ तथा इन्जुरीका कारण टोलीमा थिएनन् ।

‘मोन्चेनग्लाडबाखभन्दा हामी जितको नजिक थियौं । सुरुआती २५ मिनेट हामीले राम्रो प्रदर्शन गरेका थियौं । जसरी मोन्चेनग्लाडबाख खेलमा फर्कियो त्यो निकै खराव थियो । त्यसपछि फेरी हामीले सेट पिसमा अर्को गोल खायौं,’ उनले भने, ‘दोस्रो हाफमा हामीले केही मौका बनाए पनि त्यसलाई पोस्टको दिशा दिन सकेनौं । आज हामी हारको लायक थिएनौं ।’