इङ्ल्यान्ड फाइनल पुग्‍ने साउथगेटको विश्‍वास

लन्डन, (खेलाडी)- इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले आफ्नो टोली बुधबार डेनमार्कलाई हराउँदै युरोपियन च्याम्पियनसिप (युरो २०२०) को फाइनल प्रवेश गर्नेमा विश्‍वस्त रहेको बताएका छन् ।

इङ्ल्यान्ड सन् १९६६ पछि कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल प्रवेश गर्न सकेको छैन । सन् १९६६ पछि इङ्ल्यान्ड प्रमुख प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको यो दोस्रो पटक हो । यसअघि इङ्ल्यान्ड सन् २०१८ मा रूसमा सम्पन्‍न विश्‍वकपको सेमिफाइनल प्रवेश गरे पनि त्यहाँभन्दा अघि बढ्न सकेको थिएन ।

समूह ‘डी’ को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको इङ्ल्यान्डले जर्मनीमाथि २५ वर्षपछि नकआउट चरणमा जित हात पार्दै क्‍वार्टरफाइनलमा स्थान बनाएको थियो । क्‍वार्टरफाइनलमा इङ्ल्यान्डले युक्रेनलाई ४-० को नतिजामा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

साउथगेटले आफ्नो टोलीले विगतको गल्ती सुधार गरेकाले यस पटक सेमिफाइलन पार गर्ने दाबी गरे ।

‘हामीले नकआउट चरणको पहिलो भिडन्तमै जर्मनीसँग प्रमुख प्रतियोगिताको नकआउट चरणमा बेहोर्दै आएको हारको शृंखलामा पूर्णविराम लगायौं,’ साउथगेटले भने, ‘त्यसपछि पनि टोलीले युक्रेनको चुनौती पार गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । हामी ३ वर्षअघि विश्‍वकपको सेमिफाइनलमा रोकिएका थियौं ।’ 

‘युरो कप २०२० मा भने हामी डेनमार्कलाई निराश पार्दै उपाधिका लागि एक कदम अघि बढ्न चाहन्छौं,’ साउथगेटले अगाडि भने,’ ‘खेलाडीहरूको मनोबल उच्च छ । हामी सेमिफाइनल यात्राले मात्र सन्तुष्‍ट छैनौं । हामी लगातार दोस्रो पटक प्रमुख प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका हौं र त्यो यात्रा फाइनलसम्म डोर्‍याउन चाहन्छौं । घरेलु समर्थक हाम्रा लागि सधै विशेष ऊर्जा हुन् ।’

डेनमार्क र इङ्ल्यान्ड पछिल्लो पटक सन् २०२० मा नेसन्स लिगमा वेम्बलीमा आमनेसामने भएका थिए । जहाँ क्रिस्टियन इरिक्सनको पेनाल्टी गोलमा डेनमार्कले इङ्ल्यान्डलाई १-० ले हराएको थियो । एक वर्षपछि इङ्ल्यान्ड र डेनमार्क वेम्बलीमै प्रतिस्पर्धा गर्दै छन् । तर यस पटक इरिक्सन डेनमार्क टोलीमा छैनन् । फिनल्यान्डविरुद्धको समूह चरणको पहिलो खेलमा इरिक्सन ह्रदयाघातका कारण मैदानमा ढलेका थिए । त्यसयता उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । उनको आगामी खेलजीवन के हुने भन्‍नेमै दुविधा छ ।

डेनमार्क युरो २०२० को उपाधि जित्दै त्यो सफलता इरिक्सनलाई समर्पण गर्न चाहन्छ । समूह चरणका सुरुआती २ खेल गुमाएको डेनमार्कले समूह चरणको अन्तिम र अन्तिम १६ तथा क्‍वार्टरफाइनल गरी तीन खेलमा ११ गोल गर्दै आफूहरू उच्च लयमा रहेको संकेत गरिसकेको छ । 

डेनमार्क सन् १९८४ को सेमिफाइनलमा स्पेनसँग निराश भएको थियो भने टोलीले सन् १९९२ मा प्रतियोगिताको उपाधि जितेको थियो । त्यसपछि भने डेनमार्कले प्रमुख प्रतियोगितामा आफ्नो सहभागिता उल्लेख्य बनाउन सकेको छैन ।

‘इङ्ल्यान्डविरुद्धको खेल अवे खेलसरह हो । तर यसको छुट्टै विशेषता छ,’ डेनमार्कका प्रशिक्षक कास्पर हाजुल्मान्डले भने, ‘हामी वेम्बलीमा इङ्ल्यान्डलाई निराश पार्दै युरो २०२० को उपाधि लक्ष्य साकार पार्ने लक्ष्यमा थप एक कदम अघि बढ्न चाहन्छौं ।’