बार्सिलोना

एस्टन भिल्लासँग जोडिँदै कौटिन्हो

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला भित्रिने भएका छन् ।

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानाेले शुक्रबार कोटिन्हो एस्टन भिल्ला भित्रिने सम्पूर्ण तयारी पूरा भएको र आजै यसको औपचारिक घोषणा हुने बताएका हुन् ।

‘फिलिप कौटिन्हो लोनमा बार्सिलोनाबाट एस्टन भिल्ला भित्रिने सम्पूर्ण तयारी पूरा भएको छ । आजको सोझो संवादपछि दुबैपक्षबीच सम्झौता हुनेछ । लोन सिजनको अन्त्यसम्म हुनेछ । भिल्लाले आज आधिकारी जानकारी सार्वजनिक गर्नेछ,’ रोमानोले भनेका छन् ।

सन् २०१८ लिभरपुलबाट स्पेनिस क्लब भित्रिएका कौटिन्हो बार्सिलोनामा प्रभावकारी छाप छोड्न सकेका छैनन् । कौटिन्हो यसअघि सन् २०१९÷२० को सिजन लोनमा जर्मन क्लब बायर्न म्युनिखबाट खेलेका थिए ।