इटालियन सिरी ए

इन्टरसँग अंक दुरी घटाउँदै मिलान, नेपोली र युभेन्टसले अंक बाँडे

मिलान । एएस रोमालाई ३-१ ले पराजित गर्दै एसी मिलानले बिहीबार इटालियन सिरी ‘ए’ को शीर्ष क्लब इन्टर मिलानसँगको दुरी एक अंकमा झारेको छ ।

सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा जुनियर मेसियासले मिलानको अग्रता दोब्बर पारेका थिए ।

४०औं मिनेटमा ट्यामी अब्राहिमले गरेको गोलमा रोमाले खेलमा फर्कने संकेत गरेको थियो । तर खेल सकिन आठ मिनेट बाँकी हुँदा राफेल लियोले गोल गर्दै मिलानको सहज जित पक्का गरेका थिए ।

२० खेलबाट ४५ अंक जोडेको मिलान दोस्रो स्थानमा छ भने शीर्ष स्थानको इन्टर मिलानको ४६ अंक छ । इन्टरले एसी मिलान भन्दा एक खेल कम खेलेको छ । इन्टर र बालोग्नाबीच बिहीबारका लागि तय खेल स्थगित भएको थियो ।

२० खेलमा नेपोली ४० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको एट्लान्टाको ३८ र पाँचौ स्थानको युभेन्टसको ३५ अंक रहेको छ । रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

बिहीबार नै सम्पन्न खेलमा नेपोली र युभेन्टसले १-१ को बराबरी खेल्दै अंक बाँडे ।

२३औं मिनेटमा द्रिइस मार्टिन्सले बललाई पोस्टको दिशा दिँदै युभेन्टसलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा फेडरिको केइसाले नेपोलीलाई खेलमा फर्काएका थिए ।