स्पेनलाई निराश पार्दै इटाली फाइनलमा

लन्डन, (खेलाडी)- अल्भारो मोराटा हिरोबाट जिरोमा परिणत भएपछि युरोपियन च्याम्पियनसिप (युरो २०२०) को सेमिफाइनलमा मंगलबार राति इटालीसँग पराजित हुँदै बाहिरिएको छ । 

प्रतियोगितामा पहिलो पटक स्पेनको पहिलो रोजाईबाट हटाइएका मोराटाले समय सकिन १० मिनेट बाँकी रहँदा गोल गरेपछि खेल १-१ को बराबरीमा टुंगिएर अतिरिक्त समयमा धकेलिएको थियो । 

अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि निर्णयार्थ टाई ब्रेकरमा धकेलिएको खेलमा मोराटा चुक्दा स्पेन फाइनल प्रवेशको सम्भावनाबाट टाढिएको थियो । मोराटाको पेनाल्टी असफल भएपछि इटालीले खेल ४-२ ले पक्षमा पार्दै वेम्बलीमा आइतबार हुने फाइनलका लागि स्थान सुरक्षित गर्‍यो । 

फेडेरिको किइसाले गोल गर्दै इटालीलाई ६०औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको २० मिनेटपछि ड्यानिअल ओल्मोको पासमा गोल गर्दै वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मोराटाले खेल बराबरीमा ल्याएका थिए ।

पेनाल्टी सुटआउटमा इटालीका म्यानुअल लोकाटेलीको प्रहार स्पेनिस गोलपिकर युनाई सिमोनले बचाएका थिए । स्पेनका तर्फबाट ओल्मोले गरेको पहिलो प्रहार पोष्‍टभन्दा धेरै माथिबाट बाहिरियो । 

त्यसपछि इटालीका तर्फबाट आन्द्रिया बेलोटी, लियोनार्दो बोनुची, फेडेरिको बर्नाडेस्ची र जोर्गिन्होका प्रहार गोलमा परिणत भए । स्पेनका तर्फबाट जेरार्ड मोरेनो र थियागो अल्कान्टाराका प्रहार गोलमा परिणत भए । टोलीको तर्फबाट चौथो पेनाल्टी प्रहार गर्न आएका मोराटाको फितलो प्रहार इटालियन गोलपिकर जियानलुइजी डोनारुमाले बचाएर रोबर्टो मान्चिनीको टोलीलाई फाइनलको बाटोमा डोर्‍याए ।

आइतबार लन्डनको वेम्बलीमा हुने फाइनलमा इटालीले घरेलु टोली इङ्ल्यान्ड वा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार मध्यरातमा वेम्बलीमै हुदैछ ।