इङ्लिस प्रिमियर लिग

लुकाकु दबाबमा पनि खेल्न सक्ने खेलाडी: टचेल

लन्डन । चेल्सीका प्रशिक्षक थोमस टचेलले स्ट्राइकर रामेलु लुकाकुको प्रशंसा गरेका छन् । 

लुकाकु बुधबार स्टामफोर्ड ब्रिजमा इङ्लिस लिग कपअन्तर्गत टोटनहमविरुद्ध सेमिफाइनल पहिलो लेगको खेलबाट चेल्सीको टोलीमा फर्किएका थिए । सो खेल चेल्सीले २-० ले जितेको थियो ।

गत साता स्काई इटालियालाई दिएको अन्तरवार्तामा लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको र पुनः इन्टर मिलान फर्कने इच्छा रहेको बताएपछि उनी विवादमा तानिएका थिए ।

टचेलले आइतबार इङ्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्धको खेलमा लुकाकुलाई टोलीम राख्दा त्यसले टोलीको प्रदर्शनमा असर गर्ने भन्दै उनलाई टोलीमा समावेश गरेका थिएनन् ।

लुकाकुले आफ्नो भनाईको गलत व्याख्या गरिएको भन्दै बुधबारै चेल्सी समर्थकसँग माफी मागेका थिए ।

‘म लुकाकुको प्रदर्शनबाट सन्तुष्ट छु’, टचेलले भने, ‘म लुकाकु पछिल्लो घटनाबाट प्रभावित छैनन भन्नेमा म विश्वस्त थिए । मैले लुकाकुलाई दैनिक प्रशिक्षणमा हेरिरहेको हुन्छु । लुकाकु दबाबमा पनि खेल्न सक्ने खेलाडी हुन् ।’