काठमाडौं । पोर्चुगलले फिफा विश्वकप युरोििपयन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार पुस्कस एरिनामा पोर्चुगलले घरेलु टोली हंगेरीविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्यो ।
जितसँगै दुई खेलमा ६ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा छ । पराजित हंगेरी समान खेलबाट एक अंकका साथ तेस्रो स्थानमा छ ।
पोर्चुगललाई जित दिलाउन बर्नार्डो सिल्भा, कप्तान क्रिस्टियानो रोनाल्डो र जोआओ कान्सेलोले गोल गरे । हंगेरीका लागि दुवै गोल बर्नाबास वर्गाले गरे ।
खेलको २१औं मिनेटमा वर्गाको गोलमार्फत हंगेरीले अग्रता लिएको थियो । ३६औं मिनेटमा सिल्भाले पोर्चुगललाई बराबरीमा ल्याए ।
रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दा पोर्चुगल २-१ ले अगाडि बढ्यो । ८४औं मिनेटमा वर्गाले व्यक्तिगत दोस्रो गोल गर्दा हंगेरी २-२ को बराबरीमा आयो ।
त्यसको दुई मिनेटपछि नै कान्सेलोले गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाए ।
