इङ्लिस लिग कप

लिभरपुल र आर्सनलबीचको खेल स्थगित

लन्डन । खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीच इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनल पहिलो लेग स्थगित भएको छ ।

लिभरपुलका मुख्य प्रशिक्षक यर्गेन क्लोप कोभिड १९ संक्रमण पुष्टी भएपछि शनिबारबाटै आइसोलेसनमा छन् । बुधबार मात्र लिभरपुलका सहायक प्रशिक्षक पेपिजिन लिजनडर्सलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो । 

लिभरपुलले मंगलबार आफ्नो टोलीका धेरै खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टी भएकाले आर्सनलविरुद्धको खेल तत्कालका लागि रद्द गर्न आग्रह गरेको थियो । लिभरपुलले मंगलबारबाटै प्रशिक्षण बन्द गरिसकेको थियो ।

‘दुवै क्लबसँगको पटक पटकको छलफलपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबीचको खेल तत्कालका लागि स्थगित गर्दै नयाँ मिति तय गरिएको छ,’ इएफएले जारी गरेको विज्ञक्तीमा भनिएको छ ,' ‘लिभरपुल र आर्सनलबीचको सेमिफाइनल पहिलो लेग जनवरी १३ र दोस्रो लेग जनवरी २० मा हुनेछ ।’

आज राती हुने पहिलो सेमिफाइनलमा चेल्सीले स्टामफोर्ड ब्रिजमा टोटनहमको सामना गर्नेछ ।