इटालियन सिरी ए

कोभिड १९ ले प्रभावित सिरी 'ए' भोलिदेखि, युभेन्टसको महत्त्वपूर्ण महिना

मिलान । कोभिड १९ को महामारी सिर्जित अन्योलका बीच बिहीबारबाट इटालियन सिरी ‘ए’ मैदान फर्किँदा युभेन्टसले पुरानो प्रतिद्वन्द्वी नेपोलीसँग खेल्दै सिजनकै महत्वपूर्ण महिनाको सुरुआत गर्दैछ ।

शीर्ष डिभिजनका २० क्लबबाट दर्जनौं खेलाडी कोभिड १९ संक्रमणका कारण नयाँ वर्षको पहिलो साता मैदान बाहिर हुनेछन् । तीमध्ये युभेन्टसका कप्तान जर्जियो किलिनी पनि छन् । मंगलबार घोषित भेरोना र युडिनेसीको टिमबाट १५ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमणको दर अत्यन्तै तीब्र भएपछि इटालियन सरकारले महामारीको अर्को भेल रोक्ने उद्देश्यका साथ रंगशालामा सिट क्षमताको आधा मात्र दर्शक राख्नुपर्ने नियम राखेको छ ।

नेपोलीले बिहीबार शीर्ष स्थानको साविक विजेता इन्टर मिलानभन्दा १२ अंकले पछि रहँदै इटालियन सिरी ‘ए’को पाँचौं स्थानमा सीमित मासिमिलियानो एलेग्रीको युभेन्टससँग खेल्दै नयाँ सिजनको सुरुआत गर्दैछ । युभेन्टसका लागि कठिन मानिएको वर्षको सुरुआतमा टोलीले त्यसपछि एएस रोमा, एसी मिलान र एट्लान्टासँग खेल्नुपर्नेछ ।

आगामी सिजन च्याम्पियन्स लिग खेल्ने प्रतिस्पर्धामा युभेन्टसभन्दा दुई अंक पछि रहेर रोमाले चुनौती दिइरहेको छ भने एट्लान्टा चौथो स्थानमा छ । एट्लान्टाको खातामा युभेन्टसभन्दा चार अंक बढी छ । इटालियन सिरी ‘ए’ बाट शीर्ष चार स्थानमा रहेर सिजनको अन्त्य गर्ने टोलीले च्याम्पियन्स लिग खेल्नेछन् ।

सिजनको समाप्तिसम्मका लागि महत्व बोक्ने चार ठूला खेल मध्य फेब्रुअरीसम्ममा भइसक्ने कारण एलेग्री दबाबमा छन् । किलिनीको अनुपस्थिती तथा इटालियन राष्ट्रिय टोलीमा उनका रक्षात्मक सहयात्री लियोनार्दो बोनुचीको चोट युभेन्टसका लागि महंगो हुनसक्छ । यसैगरी आक्रमणमा पनि पाउलो डिबाला र फेडेरिको किइसा चोटबाट मुक्त हुने प्रयासमा छन् ।

नेपोलीका लागि पनि दबाब कम छैन । टुरिन भ्रमणमा निस्कँदा टोलीमा अफ्रिका कप अफ नेशन्स र कोभिड १९ महामारीका कारण थुप्रै खेलाडी अनुपस्थित हुने छन् । नेपोलीका प्रशिक्षक लुसियानो स्पालेटी पनि मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएपछि खेल दौरान घरमै एकान्तबासमा हुनेछन् ।

अनुहारको हाडमा समस्या आएका कारण यसअघिदेखि नै अनुपस्थित रहँदै आएका स्टार स्ट्राइकर भिक्टर आसिमहेनलाई पनि संक्रमण पुष्टि भएको छ । यसैगरी हिर्भिङ लोजानो, इजिफ इल्मास, केभिन माल्कुइटलाई पनि संक्रमण पुष्टि भइसकेको छ भने मारियो रुई बिहीबारको खेलका लागि प्रतिबन्धमा छन् ।

लगातार तीन घरेलु खेलमा पराजय भोगेपछि शीर्ष स्थानमा रहेर डिसेम्बर महिनाको सुरुआत गरे पनि तेस्रो स्थानमा झरेको स्पालेटीको टोली शीर्ष स्थानको इन्टरभन्दा सात अंकले पछि छ । नयाँ वर्षको सुरुआतमा लय समाउने उद्देश्यमा थुप्रै खेलाडीको अनुपस्थितीले अप्ठेरोमा परेको टोलीका कालिडोउ काउलिबाली र आन्द्रे फ्रयांक जाम्बा एङग्विसा अफ्रिका कप अफ नेशन्सका कारण अनुपस्थित रहनेछन् ।

यसैगरी उपाधिमाथिको दाबेदारी बलियो बनाउने योजनामा रहेको एसी मिलान र आगामी सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यका लागि संघर्षरत रोमाले बिहीबार सान सिएरोमा प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो स्थानको मिलानले बिहीबारको खेल जित्न सके तेस्रो स्थानको नेपोलीमाथिको तीन अंकको अग्रता थप फराकिलो पार्न सक्नेछ ।

कोभिड १९ संक्रमणका कारण सबभन्दा बढि प्रभाव सार्लेनिटानालाई परेको छ । सार्लेनिटानाका नौं खेलाडीमा संक्रमण पुष्टि भएको छ । शीर्ष डिभिजनमा बढुवा भएपछि भेनेजियाविरुद्ध हुन लागेको पहिलो खेल स्वास्थ्य मापदण्डका कारण थुप्रै खेलाडीलाई खेलाउन नपाउने कारण सार्लेनिटानाले यो खेल स्थगित गर्न अनुरोध गरेको छ ।

स्थानीय स्वास्थ्य प्रशासनले डिसेम्बर २१ मा युडिनेसी भ्रमणको अनुमति नदिएपछि सार्लेनिटाना मैदान उत्रिन पाएको छैन । डिसेम्बर १७ मा इन्टर मिलानसँग ५–० को पराजय भोगेको टोलीले त्यसयता कुनै खेल खेलेको छैन । बिहीबारको खेल पनि त्यही कारण स्थगित हुन सक्छ ।

इटालियन सिरी ‘ए’का कुल ६८ खेलाडीमा संक्रमण पुष्टि भएका कारण यो साताका अन्य खेलमा पनि त्यसको प्रभाव पर्ने निश्चित छ ।

इटालियन सिरी ‘ए’मा बिहीबार हुने खेलहरु:

  • बोलोग्ना विरुद्ध इन्टर मिलान (५:१५)
  • साम्पडोरिया विरुद्ध काग्लियारी (५:१५)
  • लाजियो विरुद्ध इम्पोली (७:१५)
  • स्पेजिया विरुद्ध भेरोना (७:१५)
  • एट्लान्टा विरुद्ध टोरिनो (९:१५)
  • सासौलो विरुद्ध जिनुवा (९:१५)
  • एसी मिलान विरुद्ध एएस रोमा (११:१५)
  • सार्लेनिटाना विरुद्ध भेनेजिया (११:१५)

शुक्रबार हुने खेलहरू

  • फियोरेन्टिना विरुद्ध युडिनेसी (१:३०)
  • युभेन्टस विरुद्ध नेपोली (१:३०)