इङ्लिस प्रिमियर लिग

केन टोली रणनीतिका महत्वपूर्ण सदस्यः कोन्टे

लन्डन । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले स्ट्राइकर ह्यारी केन आफ्नो योजनाका महत्वपूर्ण सदस्य रहेको बताएका छन् ।

केनले यस सिजनको सुरुआतमै टोटनहम छोड्न लागेको खबरले धेरै चर्चा पाएको थियो । उनलाई अनुबन्धन गर्न म्यानचेस्टर सिटीले इच्छा देखाएको थियो ।

‘केन टोटनहममै सन्तुष्ट छन् र उनी मेरो योजनाका महत्वपूर्ण सदस्य हुन् । सरुवा बजारमा केनका बारेमा सार्वजनिक भएको खबर मलाई पनि थाहा छ ’,कोन्टेले भने, ‘जब केने टोटनहमै बस्ने निर्णय गरे । मैले उनलाई केन्द्रमा राखेर योजना बनाएको हुँ ।’

‘केन टोलीमा रहँदा म खुशी छु’, कोन्टेले थपे, ‘उनी क्षमतावान खेलाडी हुन् । हामी धेरै भन्दा धेरै उपाधि जित्न चाहन्छौ र सो योजनाका केन मुख्य पात्र हुन् ।’
केन र टोटनहमबीचको सम्झौता २०२४ सम्मका लागि कायम छ । नोभेम्बरमा तत्कालिन प्रशिक्षक नुनो स्पिरिटो सान्टोको बर्हिगमनपछि कोन्टेले टोटनहमको प्रशिक्षकमा नियुक्त भएका थिए ।

कोन्टेले प्रशिक्षण सम्हाल्नु अघि केनले यस सिजनको लिगमा एक मात्र गोल गरेका थिए । तर अहिले भने केनले लिगका पछिल्लो चार खेलमा तीन गोल गरिसकेका छन् ।

टोटनहमले बुधबार इङ्लिस लिग कपको सेमिफाइनल पहिलो लेगमा चेल्सीको सामना गर्दैछ । टोटनहम गत सिजन इङ्लिस लिग कपको फाइनलमा म्यानचेस्टर सिटीसँग निराश भएको थियो ।

 टोटनहम पछिल्लो पटक सन् २००७-८ को सिजनमा इङ्लिस लिग कपको उपाधि जितेको थियो ।