फिलिप कौटिन्हो

कौटिन्होप्रति भिल्ला, एभर्टन र लिभरपुलको चासो

मर्सेसाइड । बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्होले इङ्लिस क्लबहरू एस्टन भिल्ला, एभर्टन र लिभरपुलको ध्यान आफूतिर आकर्षित गरिरहेका छन् । यदि बार्सिलोना छाडे ब्राजिलभन्दा इङ्लिस प्रिमियर लिगमा फर्किने संकेत गरेका कौटिन्होलाई भित्र्याउन पूर्व क्लब लिभरपुलसहित इच्छुक देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

बार्सिलोना पनि कौटिन्होलाई बेचेर नयाँ खेलाडी फेरान टोरेससहित अन्य खेलाडी ला लिगामा दर्ता गराउन चाहन्छ । बितेका दुई सिजनका १३ खेलमा मात्रै मौका पाएका कौटिन्हो पर्याप्त समय फुटबल खेल्नका लागि क्लब छाड्ने मनस्थितिमा छन् । र, आर्थिक समस्यामा परेको बार्सिलोना उनलाई दिने तलबबाट नयाँ खेलाडी भित्र्याउने योजनामा छ ।

कौटिन्होको क्षमतासँगै उनले माग गर्ने पारिश्रमिकका कारण पनि उनी ब्राजिल फर्किने सम्भावना कम छ । उनीमाथि चासो देखाएकामध्ये एस्टन भिल्ला उनको सम्भावित गन्तव्य मान्न सकिन्छ ।

उनले लिभरपुलमा खेल्दाका कप्तान स्टेभन जेरार्ड अहिले भिल्लका मुख्य प्रशिक्षक हुनु पनि यसको कारण बन्न सक्छ ।