इरिक्सनका लागि डेनमार्कको लक्ष्य बाँकी छ 

बाकु, (खेलाडी)- डेनमार्कले वेम्बलीमा हुने युरोपियन च्याम्पियनपिस (युरो २०२०) को सेमिफाइनलमा स्थान बनाउदै एउटा लक्ष्य पूरा गरिसकेको छ । 

तर डेनमार्क आफ्नो उत्कृष्‍ट लयलाई उपाधि यात्रासम्म पुर्‍याउदै अर्को एउटा लक्ष्य प्राप्ती गर्न चाहन्छ, मिडफिल्डर क्रिस्टियन  इरिक्नसलाई विशेष उपहार दिने। जुन प्रतियोगिताको सुरुआतपछि मात्र थपिएको लक्ष्य थियो ।

डेनमार्कले युरो २०२० को पहिलो खेल फिनल्यान्डविरुद्ध खेल्यो, जहाँ इरिक्सन ह्रदयघातका कारण पहिलो हाफमा मैदानमा ढले । उनले जीवन त जिते, तर आगामी दिनमा फुटबल खेल्ने वा नखेल्ने भन्‍ने लडाईमा उने अझै स्पष्‍ट नतिजा पाइसकेका छैनन् । उनको स्वास्थ्य अवस्थाका कारण खेल जीवनको भविश्य अन्योलमा छ । त्यसैले डेनमार्कले युरो २०२० को सुरुआतपछि लिएको लक्ष्य थियो, प्रतियोगिताको १६औं संस्करणको उपाधि जित्दै इरिक्सनप्रति समपर्ण गर्ने ।

सन् १९९२ मा युरो जितेको डेनमार्क त्यसपछि प्रमुख प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको यो नै पहिलो अवसर हो । चेक गणतन्त्रमाथि २-१ को जितका साथ डेनमार्कले युरो २०२० को सेमिफाइनमा स्थान पक्का गरेको थियो ।

सुरुआती दुई खेलमा पराजित भएको डेनमार्कले त्यसपछिका तीन खेलमा १० गोल गर्दैै सबै खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो । डेनमार्कको हरेक खेलमा इरिक्सन डेनिस टोलीको विशेष समर्थक रहने गरेका छन् । उनले घरबाटै डेनिस टोलीको समर्थन गरिरहेका छन् ।

‘क्रिस्टियनले टोलीको प्रशंसा गरेका छन् । जुन टोलीका लागि गर्वको विषय हो,’ डेनमार्कका मिडफिल्डर थोमस ड्यानिलेले इरिक्सनले शनिबार खेलअघि टोलीलाई पठाएको सन्देशवारे भने, ‘उनी सधै यो टोलीका अभिन्‍न अंग हुन् र टोलीकै उत्कृष्‍ट खेलाडी पनि । हामीले उनीसँगै खेलिरहेका छौं । उनी अझै टोलीको प्रतिनिधत्व गर्ने अधिकार राख्छन् । दूर्भाग्य, उनी स्वास्थ्य समस्याका कारण अहिले घरमै आराम गरिरहेका छन् । तर उनले घरमै बसेर टोलीको हौसला बढाउने काम गरेका छन् । हामी युरो २०२० जितेर उपाधि इरिक्सनप्रति समर्पण गर्न चाहन्छौं । टोलीको हरेक सफलता हामी इरिक्सनसँग बाढ्न चाहन्छौं ।’

प्रतियोगिता सुरु हुनुअघि डेनमार्कका गोलकिपर कास्पर स्माइचेलले आफ्नो टोली युरो २०२० को दाबेदार रहेको बताउँदा सबैले त्यसलाई महत्वाकाक्षी लक्ष्य भएको भन्दै महत्व दिएका थिएनन् । डेनमार्कले २९ वर्षअघि युरो विजेताको ताज पहिरिँदा स्माइचेलका पिता पिटर स्माइचेल टोलीका मुख्य सदस्य थिए ।

तर डेनमार्क सेमिफाइनल प्रवेशले मात्र सन्तुष्‍ट छैन ।

सन् २०१८ को रुस विश्‍वकपको क्‍वार्टरफाइनलबाट बाहिरिएको डेनमार्कले त्यसयता खेलेका २९ खेलमा मात्र ३ खेल गुमाएको छ । 

बुधबार वेम्बलीमा हुने सेमिफाइनलमा डेनमार्कले घरेलु टोली इङ्ल्यान्डको सामना गर्नेछ । गत नोभेम्बरमा नेशन्स लिगमा डेनमार्कले वेम्बलीमै इङल्यान्डलाई हराएको थियो । कोपनहेगनमा भएको खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।

‘युरो २०२० मा हाम्रो लक्ष्य वेम्बलीमा खेल्ने थियो,’ डेनमार्कका कप्तान सिमोन काजरले भने, ‘एउटा लक्ष्य प्राप्ती भएको छ । तर हामी अझै सन्तुष्‍ट छैनौं । हामी क्रिस्टियनका लागि खेलिरहेका छौं र उनी यसबारे राम्रोसँग जानकार छन् ।’