कोलम्बिया कोपाको अन्तिम चारमा

रियो दी जेनेरियो, (खेलाडी)- डेविड ओस्पिनाले पेनाल्टी सुटआउटमा दुई विपक्षी प्रहार बचाएपछि कोलम्बियाले आइतबार विहान भएको क्‍वार्टरफाइनलमा उरुग्वेमाथि जित हासिल गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । 

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि निर्णयार्थ टाई ब्रेकरमा भेट्रान गोलकिपर ओस्पिनाले कोलम्बियालाई अन्तिम चारको बाटोमा डोर्‍याए । 

कोलम्बियाका तर्फबाट पेनाल्टी सुटआउटमा लगातार चार पेनाल्टी गोलमा परिणत हुँदा ओस्पिनाले विपक्षी टोलीका दुई प्रहार बचाए । ओस्पिनाले होसे जिमेनेज र माटियास भिनाका प्रहार जोगाएर ४-२ को जितका साथ कोलम्बियाको सेमिफाइनल यात्रा पक्का गरेका थिए ।  

मंगलबार हुने सेमिफाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिनाले आइतबार विहानै भएको क्‍वार्टरफाइनल खेलमा इक्‍वेडरमाथि ३-० को जित हासिल गर्दै अन्तिम चारको टिकट काटेको थियो ।