इड्लिस प्रिमियर लिग

सिटीकाे नाटकीय जित

लन्डन । रोड्रिगो हर्नान्डेजले इन्जुरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार १० खेलाडीमा सीमित रहदै अन्त्य गरेको आर्सनलमाथी २-१ को नाटकीय जित निकालेको छ ।

मुख्य प्रशिक्षक माइकल अर्टेटा कोभिड संक्रमणका कारण अनुपस्थित रहेको खेलमा बुकायो साकाले ३१औं गरेको गोलबाट आर्सनलले अग्रता लिएको थियो ।

यद्यपि, ५७औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रियाद महरेजले सिटीलाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेटपछि ग्याब्रियल म्यागलेसले दोस्रो पहेलो कार्डसँगै रातो कार्डको दर्शन गर्दै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित बनेको थियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रिगोले निर्णायक गोल गरेपछि शीर्ष स्थानको सिटीले तीन अंक निश्चित गर्यो ।

जितसँगै लिगको शीर्ष स्थानमा रहेको सिटीले २१ खेलबाट ५३ अंक जोडेको छ । यस्तै २० खेलबाट ३५ अंक जोडेको आर्सनल तालिकाको चौथो स्थानमा छ ।