इरिक्सनलाई उपाधि उपहार दिने योजनामा रहेको डेनमार्क सेमिफाइनलमा

बुखारेस्ट, (खेलाडी)- चेक गणतन्त्रको चुनौती २-१ को नतिजामा पाखा लगाउँदै डेनमार्कको टोलीले अस्वस्थ भएर आराम गरिरहेका सहयात्री क्रिस्टियन इरिक्सनलाई युरोपियन च्याम्पियनसिप (युरो २०२०) को सेमिफाइनल उपहारको रुपमा दिएको छ । 

जारी प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा अचानक ह्रदयघातका कारण इरिक्सन मैदानमा बेहोस भएर ढलेका थिए । मैदानमा सामान्य उपचारपछि उनलाई तत्काल अस्पताल लानु परेको थियो । 

अस्पतालमा झण्डै एक साताको उपचारपछि इरिक्सन ठिक भएर डिस्चार्ज भइसकेका छन् र डेनिस टोली युरो २०२० को उपाधि जितेर उनलाई उपहार दिन चाहन्छ । इरिक्सनले प्यारापिटमा बसेर हेरेको खेलमा शनिबार राति थोमस डिलानी र कास्पर डोलबर्गको गोलमा डेनमार्कले पहिलो हाफमै दुई गोलको अग्रता लिइसकेको थियो । 

मध्यान्तरपछि खेलमा पुनरागमन जनाउने प्रयासस्वरुप ४९औं मिनेटमा चेक गणतन्त्तले एक गोल फर्काएको थियो । तर प्याट्रिक स्चिकको त्यो गोलले प्रतियोगितामा चेक गणतन्त्रको यात्रा लम्ब्याउन सकेन । 

बुधबार वेम्बलीमा हुने सेमिफाइनलमा डेनमार्कले घरेलु टोली इङ्ल्यान्ड वा युक्रेनमध्ये एकसँग खेल्नेछ । इङ्ल्यान्ड र युक्रेनबीच प्रतियोगिताको अन्तिम क्‍वार्टरफाइनल अहिले केहीबेरमा रोमको ओलम्पिक रंगशालामा हुँदैछ ।