काठमाडौं । साउदी अरेवियाविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकपका लागि छनोट भएको छ ।
जितसँगै अस्ट्रेलिया १० खेलमा १९ अंकका साथ फिफा विश्वकप एसिया छनोटको समूह ‘सी’ को दोस्रो स्थानमा रह्यो । पराजित साउदीले समान खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफ खेल्न पर्ने भएको छ ।
अस्ट्रेलिया सातौं पटक विश्वकपमा छनोट भएको हो । यो समूहबाट जापान यसअघि नै विश्वकपमा पुगिसकेको थियो ।
मंगलबार किंग अब्दुल्लाह स्पोर्टस सिटीमा पाहुना टोली अस्ट्रेलियालाई जित दिलाउन कोनर मेटकाफ र मिच ड्युकले गोल गरे । साउदीका लागि अब्दुलरहमान अलोबुडले गोल गरे ।
खेलको १९औं मिनेटमा ओलोबुडले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा मोटकाफले अस्ट्रेलियालाई बराबरीमा ल्याए ।
ड्युकले ४८औं मिनेटमा गोल गर्दा अस्ट्रेलिया २-१ले अगाडि बढ्यो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सलिम अलदवासरी पेनाल्टीमा चुक्दा साउदीले बराबरी गर्ने अवसर गुमायो ।
अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा हालसम्म ११ देशले स्थान पक्का गरेका छन् । यसअघि तीन आयोजक राष्ट्रले स्वतः विश्वकपमा स्थान बनाउँदा छनोटबाट जापान, न्युजिल्यान्ड, इरान ,अर्जेन्टिना, उज्वेकिस्तान, जोर्डन र दक्षिण कोरियाले विश्वकपमा स्थान सुरक्षित गरेका थिए ।