इङ्लिस प्रिमियर लिग

लिभरपुल लेस्टरसँग स्तब्ध

लन्डन । मोहम्मद सलाहाले पेनाल्टीको अवसर गुमाएको दिन लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीसँगको अंक दुरी कम गर्ने अवसर गुमाएको छ ।

प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा लिभरपुल लेस्टर सिटीसँग १-० ले स्तब्ध भएको हो । सबै खाले प्रतियोगिता गरि पछिल्लो ११ खेलमा पहिलो हार व्यहोरेपछि लिभरपुलले सिटीमाथि दबाब बढाउन सकेन । सिटी लिभरपुल भन्दा ६ अंकले अघि छ । 

१९ खेलमा सिटीको ४७ अंक छ भने दोस्रो स्थानको लिभरपुलको ४१ अंक छ । 

१६औं मिनेटमा सलाहाले पेनाल्टीको सदुपयोग गर्न सकेनन् । ५९औं मिनेटमा लुकम्यानले गरेको गोल लेस्टरको जितमा पर्याप्त बन्यो ।

यससँगै लेस्टरले गत साता इङ्लिस लिग कपको क्वार्टरफाइनलमा लिभरपुलसँग भोगेको हारको बदला समेत लिएको छ ।

प्रिमियर लिगअन्तर्गत मंगलबार भएको अर्को खेलमा टोटनहमले साउथहमटनसँग १-१ को बराबरी खेल्यो ।