इङ्लिस प्रिमियर लिग

ग्वार्डिओलाले गरे लेस्टरको प्रशंसा

लन्डन । इङ्लिस प्रिमियर लिगमा आइतबार ६–३ को नतिजामा पराजित गरेपछि म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले लेस्टर सिटीको प्रशंसा गरेका छन् ।

जितपछि शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको म्यानचेस्टर सिटीलाई लेस्टरले आइतबार राति कठिन चुनौती दिएको थियो । दोस्रो स्थानको लिभरपुलको ४१ अंक छ ।

‘बक्सिङ डेमा लेस्टरविरुद्धको खेल निकै रोमाञ्चक थियो । यसबाट थप तीन अंक जोड्न सक्यौं । हामी यसैगरि निरन्तर अघि बढ्ने छौं,’ ग्वार्डिओलाले भने, ‘हामीले पहिलो हाफमा ४–० को अग्रता लिएका थियौं । तर, लेस्टरले बल पाउने बित्तिकै काउन्टर अट्याकको प्रयास गर्थे । र, काउन्टर अट्याकमा लेस्टर सधैँ डरलाग्दो टोली हो । लेस्टर राम्रो टोली हो ।’

सुरुआती २५ मिनेटमै ४–० ले पछि परेको लेस्टरले दोस्रो हाफको २० मिनेट नबित्दै तीन गोल फर्काएको थियो । यद्यपि, त्यसपछि सम्हालिन नसक्दा लेस्टर ६–३ को नतिजामा पराजित भएको थियो ।