सहिद स्मारक ए डिभिजन लिग

आर्मी र थ्री स्टारको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा त्रिभुवन आर्मी फुटबल क्लब जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत थ्री स्टारविरुद्धको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारमाथि निरन्तर दबाब बनाएको विभागीय टोलीले फिनिसिङमा चुक्दा अग्रता बनाउन सकेन ।

दिनेश हेन्जनले १५औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । यस्तै, २३औं मिनेटमा मिडफिल्डर जगजित श्रेष्ठको पासमा आर्मीका सन्तोष तामाङले पेनाल्टी बक्सको एजबाट गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाएका थिए ।

त्यसको दुई मिनेट नबित्दै थ्री स्टारका आयुष घलानले १८ यार्ड बक्स भित्रबाट प्रहार गरेको भली सट फ्रेममा परेको थिएन ।

पहिलो हाफको अन्तिम मिनेटमा थ्री स्टारका हेमन्त थापाले पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले रोकेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा आर्मी गोल नजिक पुगेर पनि अग्रता बनाउन असफल रह्यो । दिनेशले वान् भर्सेज वानमा पाएको बललाई सोझै प्रहार नगरेर पास दिन खोज्दा आर्मीले सुन्दर मौका गुमाएको थियो ।