सहिद स्मारक ‘ए’ डिभिजन लिग

संकटा तेस्रो स्थानमा उक्लियो

काठमाडौं । ब्रिगेड ब्वाइज क्लब (बिबीसी) माथि ३-० को सहज जितसहित संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सजतमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे ।

१२औं मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औं मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे । 

त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३-० मा पुर्याएका थिए ।

६ खेलमा १२ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको हो । बिबीसी भने समान खेलमा पाँच अंकसहित १०औं स्थानमा छ ।