काठमाडौं । सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा यही मंसिर ११ देखि १६ गतेसम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आइएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ ।
चीन जाने टोलीलाई सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, प्रदेश सभासद् सुनिल केसी, क्लबका पूर्व अध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गरे ।
पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली आइतबार चीन प्रस्थान गर्नेछ । टोलीको प्रशिक्षकमा अशिम अर्याल र व्यवस्थापकमा विकल्प खरेल छन् ।
उपाधि जित्ने लक्ष्यका साथ दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक अशिम अर्यालले जानकारी दिए । ‘स्ट्रीट विश्व च्याम्पियनसिपका लागि हामी उपाधि दावेदार हौं । राम्रो तयारी गरेकोले उपाधि जितेर फर्कने लक्ष्य राखेका छौं’, अर्यालले भने ।
अर्यालकाअनुसार फुटसल भन्दा सानो कोर्टमा खेलिने थ्री बाइ थ्री फुटबल आठ मिनेटको हुनेछ ।
खेलाडीलाई शुभकामना दिँदै सरस्वती क्लबका अध्यक्ष भण्डारीले क्लबले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको बताए ।
सरस्वतीको टोली
दिपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा, दिभांसु शर्मा ।