स्पेनिस ला लिगा

शीर्ष स्थानमा रियालको अग्रता कायमै, बार्सिलोना बेटिससँग निराश

मड्रिड । रियाल मड्रिडले शनिबार रियाल सोसिडाडलाई २-० ले हराउँदै स्पेनिस ला लिगामा शीर्ष स्थानको आफ्नो अग्रता आठ अंकमा पुर्याएको छ ।

४७औं मिनेटमा भिनिसियोस जुनियरले बललाई जाली चुमाउँदा रियालले अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि लुको जोभिचले रियालको अग्रता दोब्बर पारेक थिए ।

शीर्ष स्थानको अग्रता बढाएपनि लयमा रहेका कप्तान तथा स्ट्राइकर करिम बेन्जेमाको चोट भने रियालका लागि चिन्ताको विषय बनेको छ । बेन्जेमा १७औं मिनेटमा ह्यामस्ट्रिङ कारण मैदानबाट बाहिरिएका थिए ।

१६ खेलमा ३९ अंकसहित रियाल शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको सेभिया भन्दा आठ अंक बढी हो । एट्लेटिको मड्रिड ३० अंक जोड्दै तेस्रो स्थानमा छ भने समान खेलमा समान २९ अंक बटुल्दै रियाल बेटिस र रियाल सोसिडाड क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।

शनिबार भएको अन्य खेलमा रियाल बेटिसले बार्सिलोनालाई १-० ले निराश पारेको थियो । मार्लोकाले एटेलेटिकोलाई २-१ ले हराउँदा सेभियाले भिल्लारियाललाई १-० ले पराजित गरेको थियो ।