सहिद स्मारक ‘ए’ डिभिजन लिग

हारकाे संघारबाट जाेगियाे मनाङ

काठमाडौं । इन्जुरी समयमा फ्रयांकलिन टल्लाले गोल गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्यादी क्लब हारको संघारबाट जोगिएको छ ।

बराबरीसँगै तीन खेलबाट सात अंक जोडेको मनाङ तालिकाको दोस्रो स्थानमा छ । मनाङले पहिलो खेलमा जावलाखेल र दोस्रो खेलमा हिमालयन शेर्पालाई समान १–० ले पराजित गरेको थियो ।

यता तीन खेलबाट पाँच अंक जोडेको संकटा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरीमा रोकिदा संकटाले दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथी २–१ को जित दर्ता गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ३१औं मिनेटमा निरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता बनाएको थियो । उनले लक्ष्मण रुचालको फ्रिककलाई सदुपयोग गर्दै हेडमार्फत सेकेन्ड बारमा गोल गरे ।

३४औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका लागि दयानन्द सिंहले गोल गरे । पुजन उपरकोटीको फ्रिकिकलाई बक्सभित्र फ्रयाकलिन टल्लाले मिलाएको एयर बललाई भारतीय मिडफिल्डर सिंहले हेड गोल गरे ।

७०औं मिनेटमा उत्तम राईले गरेको गोलबाट संकटाले २–१ को अग्रता बनायो । लेफ्ट विंगबाट फोडे फोफानाले दिएको क्रस बललाई बक्सभित्र रहेका भारतीय खेलाडी उत्तम राईले हेडमार्फत पोस्टको दिशा दिए ।

तर इन्जुरी समयमा टेलाले गोल गरेपछि मनाङल खेलमा फर्किएको थियो ।  संकटाका निरज बस्नेतले क्लियर गरेको बललाई टेलाले पेनाल्टि बक्सबाट भलि गोल गरेका थिए ।

शनिबार हुने दोस्रो खेलमा अपरान्ह ४ः४५ बजे च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बिच प्रतिस्पर्धा हुदैछ ।