इङ्लिस प्रिमियर लिग

एनएस मुरासँगकाे पराजयले धेरै कुरा सिकायाेः काेन्टे

लन्डन । ब्रेन्टफोर्डविरुद्ध बिहीबार जित निकालेपछि इङ्लिस प्रिमियर लिग क्लब टोटेनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले युरोपा कन्फेरेन्स लिगमा एनएस मुरासँगकाे पराजयले आफूहरुलाई धेरै कुराको पाठ सिकाएको बताएका छन् ।

प्रिमियर लिगमा बिहीबार ब्रेन्टफोडमाथी २–० को जित निकालेको टोटेनहम गत बिहीबार कन्फ्रेन्स लिगमा भने एनएस मुरासँग २–१ पराजित भएको थियो ।

‘आज हामीले ब्रेन्टफोर्डमाथी जित निकाल्यौं तर कन्फेरेन्स लिगमा एनएस मुरासँग पराजित भएका थियौं फरक यत्ति हो । मुरासँगको पराजय हाम्रा लागि निकै पिडादायी थियो,’ कोन्टेले भने, ‘जितभन्दा हारले धेरै कुरा सिकाउँछ । मुरासँगको पराजयले हामीलाई धेरै कुरा सिकायो । आज हामीले जित निकाल्यौं । ब्रेन्टफोर्डविरुद्ध तीन अंक ल्याउन सजिलो थिएन ।’

१३ खेलमा २२ अंक जोडेको टोटेनहम लिग तालिकाको छैटौं स्थानमा छ ।

लिगमा टोटेनहमले अर्काे खेलमा आइतबार नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।