सहिद स्मारक ‘ए’ डिभिजन लिग

हारबाट जाेगियाे थ्री स्टार

काठमाडौं । मिक्छेन तामाङको गोलमा थ्री स्टार क्लब शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारको संघारबाट जोगिएको छ ।

थ्री स्टारले फ्रेन्ड्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५१ औं मिनेटमा फ्रेण्ड्सका नथानीयल जुड गार्सियाले अग्रता लिए । कप्तान प्रकाश बुढाथोकीले लेफ्ट विंगबाट गरेको क्रस बललाई बक्स भित्र रहेका ट्रिनिडाड एन्ड ट्रिबागोका खेलाडी गार्सियाले हेड मार्फत उत्कृष्ट गोल गरेका थिए ।

खेलको ८२ मिनेटमा मिक्छेनले गोल गरेपछि थ्री स्टार खेलमा फर्कियो । मिक्छेनले रितिक कुमार खड्काले गरेको क्रसलाई पेनाल्टी क्षेत्रबाटसहज गोल गरे ।

बराबरीसँगै थ्री स्टारले तीन खेलबाट चार अंक जोडेको छ ।

पहिलो खेलमा च्यासल युथलाई ३–० ले पराजित गरेको थ्रीस्टार दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध भएको थियो ।

फ्रेन्ड्सले तीन खेलबाट दुई अंक जोडेको छ ।

यसअघि पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा भने संकटासँग २–१ अन्तरले पराजित भएको थियो ।

आजको हुने अन्तिम खेलमा ४ः४५ बजे नव प्रवेशी क्लब सातदोबाटो युथ क्लब र विभागीय एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।