फ्रेन्च लिग वान

पाेचेटिनाेद्वारा मेसीकाे बचाउ

पेरिस । फ्रेन्च लिग वानअन्तर्गत बुधबार नाइसविरुद्ध गोलरहित बराबरीमा रोकिएपछि पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक माउरिसिओ पोचेटिनो सात पटकका बालन डी अर विजेता लियोनल मेसीकाे बचाउमा उत्रिएका छन् ।

कीर्तिमानी सात पटक बालन डी अर जितेपछि पार्क डे प्रिन्सेसमा मेसी नाइसविरुद्धको खेलअघि पिएसजीको घरेलु समर्थकमाझ सम्मानित भएका थिए । यद्धपी पिएसजीले नाइसविरुद्ध जित निकाल्न भने सकेन ।

‘यसमा मेरो गल्ती छ किनकि म मेरो प्रशिक्षकको आँखाले मेसीलाई सधै राम्रो देख्छु । उसले सात पटक बालन डी अरको उपाधि जितेका छन्, यसबाहेक अब मैले अरु केही बोल्न आवश्यक पर्छ जस्तो लाग्दैन,’ पाेचेटिनाेले भने, ‘मेसीलाई टोलीमा पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो । नाइसविरुद्ध हामीले गोलका लागि निकै प्रयास गरे पनि बलले पोस्टको दिशा लिन सकेन, जसरी अरु बेला लिन्थ्यो ।’

यसै सिजन मेसी स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध भएका थिए । उनले लिगमा हालसम्म एक गोल मात्र गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको पिएसजीले १६ खेलमा ४१ अंक जोडेको छ ।

नाइस १६ खेलबाट २७ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।