काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङबीच बिहीबार दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा छलफल भएको छ ।
मैदान स्तरोन्नतीका लागि लाग्ने समय, बजेटलगायतका विषयमा दुई पक्षबीच राखेपमा प्रारम्भिक छलफल भयो। सदस्यसचिव घिसिङले मैदानको स्तरोन्नतीका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।
‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय, बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला,’ सदस्यसचिव घिसिङले भने, ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला। त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण काम रोकिनु हुँदैन ।’
यो विषयमा राखेपले बिहीबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे ।