इङ्लिस प्रिमियर लिग

हारको संकट टर्दा सन्तुष्ट टचेल

लन्डन । इङ्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँग हारको संघारबाट जोगिए पछि चेल्सीका प्रशिक्षक थोमस टचेलले टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताएका छन् ।

घरेलु मैदानमा बराबरी खेलेसँगै चेल्सीले दाेस्राे स्थानकाे  म्यानचेस्टर सिटीसँग अंक दुरी बढाउने माैका गुमायाे ।  चेल्सीले १३ खेलबाट ३० अंक जोडेको छ । त्यस्तै समान खेल खेलेको म्यानचेस्टर सिटी २९ अंकका साथ दोस्रो स्थानमा छ ।

‘युनाइटेडविरुद्धको खेलमा जे भयो त्यसमा अचम्मित हुने कुनै कुरा छैन । हामी चार शुन्यले अघि रहदा, एक शुन्यले पछि पर्दा वा जस्तोसुकै अवस्था रहे पनि अहिले नै अंकको हिसाब गदैनौं । अहिले उपाधि दौडको मध्यतिर छौं र हाम्रो अहिलेको स्थान अन्त्यसम्म बनाइराख्न चाहन्छौं,’ टचेलले भने, ‘युनाइटेडविरुद्धको खेलबाट म सन्तुष्ट छु । प्रशिक्षकको रुपमा म खुसी नै छु । मैले टोलीमा खेल जित्ने प्रयास र मनसाय देखे ।’

चेल्सीविरुद्धको खेलमा जोडन सान्चोले ५०औं मिनेटमा गोल गरेपछि पाहुना टोली युनाइटेडले अग्रता लिएको थियो । तर ६९औं मिनेटमा जर्गिन्होले पेनाल्टी मार्फत गोल गर्दै चेल्सीको हार टारेका थिए ।