नेपाली फुटबल

यु १९ साफ च्याम्पियनसिपका लागि आइतबारबाट प्रशिक्षण हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने १९ वर्षमुनीको महिला साफ च्याम्पियनसिप फुटबलको लागि ४० खेलाडीलाई आइतबारबाट प्रशिक्षणमा बोलाएको छ ।

च्याम्पियनसिपका लागि गत साता सम्पन्न उपमेयर कप राष्ट्रिय महिला छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पहिलो चरणको छनोटको लागि बोलाइएको एन्फाकी केन्द्रीय सदस्य पेमा लामाले जानकारी दिएकी छिन् । प्रतियोगिता आगामी डिसेम्बर ११ देखि बंगलादेशमा हुनेछ ।

‘हामीले साफ यु–१९ च्याम्पियनसिपको लागि ४० खेलाडी बोलाएका छौ । आयोजकले खेलाडीको कति सदस्यीय टोली लिएर आउनु भन्छन् त्यति सदस्यीय टोली छनोट गरेर लानेछौ,’ उनले भनिन् ।

प्रतियोगितामा साविक विजेता बंगलादेशसँगै नेपाल, भारत, भुटान र श्रीलंकाको सहभागी रहने छ ।

राउन्ड रोविन पद्दति हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग डिसेम्बर ११ मा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दोस्रो खेलमा डिसेम्बर १९ मा नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

लिगका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल डिसेम्बर २२ मा हुनेछ ।