सहिद स्मारक लिग

शुक्रबारबाट सहिद स्मारक 'ए' डिभिजन लिग, सबै क्लबलाई चुनाैती

काठमाडौ । कोभिड १९ को महामारीका कारण एक बर्ष ढिलो गरि सुरु हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग शुक्रबार बाट सुरु हुदैछ ।

पहिलो पटक फ्लड लाइटमा हुन लागेको लिगको उद्घाटन खेलमा दशरथ रंगशालामा नवप्रवेसी सातदोबाटो युथ क्लब र फ्रेन्डस क्लबबिच प्रतिस्पर्धा हुदैछ ।

लिगमा यस सिजन १४ टोलीको सहभागिता छ ।

लिग सुरु हुनुअघि बिहीबार भएको पत्रकार सम्मेलनमा १३ क्लबका प्रशिक्षक तथा कप्तानले क्लबको तयारीका बारेमा जानकारी दिए । सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हिमालयन शेर्पाका भने कोही प्रतिनिधी उपस्थित थिएनन् ।

मछिन्द्र क्लब (साविक विजेता),

प्रशिक्षक, प्रवेश कटुवाल

‘डिफेन्डिङ च्याम्पियन भएर हामीलाई बलियो देखेको छ । उपाधि जोगाउन गाह्रो हुन्छ भनेर फरवार्ड लाईनमा धेरै खेलाडी राखेका छौं ।

प्रशिक्षकले चुनौती लिनै पर्छ । च्याम्पियन हुन स्टार खेलाडी धेरै राख्नैपर्छ । धेरै स्टार खेलाडीलाई उचित मौका प्रदान गर्न गाह्रो त हुन्छ नै तर हामीले गत सिजन राम्रो गर्यौं सबै खेलाडीले खेल्न पनि पाएका थिए ।’

कप्तान, सुजल श्रेष्ठ

‘मछिन्द्र साविक विजेता भएकोले यसपाली पनि हामीलाई उपाधी जोगाउने चुनौती छ । पहिले कै जोशमा छौं ।  यो सिजन पनि रक्षा अपेक्षा गरेका छौं ।’

थ्री स्टार क्लब,

प्रशिक्षक, उर्जन श्रेष्ठ

‘लिगका लागि भनेर तयारी राम्रो गरिरहेका छौं । हाम्रो सधैको झै यसपालीको अपेक्षा पनि उपाधि जित्ने छ । लिगका सबै टोली बलियो छन् । त्यसैले प्रतिस्पर्धात्मक खेल हुने देख्छु ।’

कप्तान, विक्रम लामा

‘तयारी राम्रो छ । दशै तिहारले केही प्रभाव परे पनि हामी सन्तुष्ट छौं । सबैभन्दा मुख्य कुरा मैदानमा गर्ने प्रदर्शन हो । लिगका लागी हामी पूर्णरुपमा तयार छौं ।’

मनाङ मर्स्याङदी क्लब,

प्रशिक्षक राजेन्द्र तामाङ

‘चाडपर्वको बेला तयारी पर्यो । तैपनि टोली बलियो छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका खेलाडी छन् । उपाधि जित्ने योजनमा छौं । क्लबको धेरै समर्थक छन् भन्दैमा उपाधि जितिदैन त्यसको लागि मिहिनेत गर्नुपर्छ । हामी कतिको योग्य छौ भन्नेमा पनि भर पर्छ । सबै टोलीहरु राम्रा छन्, सबै प्रशिक्षकहरुले अहिले कोचिङ कोर्स पनि गरेका छन् ।’

कप्तान, विमल राना

‘अहिलेको प्रशिक्षक र तोपे फुजाको तरिका करिब मिल्छ । सजिलो छ । त्यत्रि गाह्रो भएको छैन । भाग्यले पनि साथ दिनुपर्छ । 
गतवर्ष भाग्यले साथ दिएन । धेरै खेलाडीले छोडेर जाँदा पनि क्लब राम्रो थियो तर केही गल्तीहरु भए । यसपटक ती गल्तीलाई  सुधारेर लिगकाे उपाधि जित्ने योजना छ ।’

त्रिभुवन आर्मी,

सहायक प्रशिक्षक, राजु तामाङ

‘विभागीय टोली भएकाले लक्ष्य अवश्य नै लिगको उपाधि जित्ने नै हुन्छ । हामीले सधै प्रशिक्षण गरिरहने भएकाले तयारी एकदमै राम्रो छ । टोलीमा नवयुगको कमीले आक्रामण लाइनमा समस्या भएको छ । तर उसको अनुपस्थितिलाई पुरा गर्ने हाम्रा अरु खेलाडीहरु पनि छन् । सुदिप, जगदिश र भरतजस्ता  अनुभवी खेलाडी छन् ।’

कप्तान, भरत खवास

‘प्रतियोगिताको लागि तयारी राम्रो छ । परिवारमा एक सदस्य (नवयुग) नहुँदा अप्ठेरो हुन्छ तर हामीसँग उसकाे अभाव परिपूर्ती गर्न उत्तिकै क्षमता भएका खेलाडी छन् । उसको कमी अरु खेलाडीलाई मौका हुन सक्छ । विगतको कमीकमजोरीलाई सुधार गरेर सफल हुन्छौ भन्ने आशा छ । लक्ष्य भनेको च्याम्पियन हुनु नै हो । यस पटक हाम्रो टोली राम्रो बनेको छ । समूह भएर खेलेका छौं । लिगका सबै टोली राम्रो जस्तो लाग्छ ।’

नेपाल पुलिस क्लब,

प्रशिक्षक, अनन्त थापा

‘हामी सधै लिगका लागि तयार छौं । लिगकै लागि भनेर तीन चार महिनादेखि तयारी गरिरहेका छौं । उपाधि जित्ने अपेक्षा छ । टोलीमा नयाँ अनुहारहरु छन् । अप्रत्यासित नतिजा निकाल्ने योजनामा छौं । खेलाडहरुबिच राम्रो तालिमेल रहेकाले नतिजा राम्रो निकाल्ने अपेक्षा छ । विभागीय टोलीमा विदेशी खेलाडी नहुँदा पनि नियमीत तालिम हुने भएकाले टोली सन्तुलित छ । लिगमा सबै टोली बलियो छन् तर मच्छिन्द्र केही बलियो देखिन्छ ।’

कप्तान, राम वाजी

‘टोलीको तयारी कोभिडको दोस्रो लहर पछि गरेको राम्रो छ । पहिलो पटक कप्तानी हो, जिम्मेवारी बढेको छ । कप्तानकाे रुपमा दबाब छ तर टाेलीकाे रुपमा हामी तयार छौं।’

एपीएफ क्लब,

प्रशिक्षक, कुमार थापा

‘पछिल्लो पटक लिगको १२औं स्थानमा थियौं । तर यसपटक शीर्ष आठमा पर्ने योजना छ । केही नयाँ अनुहारहरुले लिगमा डेब्यु गर्नेछन् । हामी बिगतको हाम्रो छवी परिवर्तन गर्ने योजनामा छौं ।’

कप्तान, टोपबहादुर बिष्ट

‘समग्रमा तयारी राम्रो छ । ३ महिनादेखि निरन्तर अभ्यास गरिरहेका छौं । धेरै माथिको अपेक्षा छैन । चौथोदेखि आठौं स्थानमा रहदै प्रतियोगिताको अन्त्य गर्ने योजना छ ।’

संकटा क्लब,

प्रशिक्षक, विष्णु गुरुङ

‘लिगका लागि सबै टोलीले राम्रो तयारी गरेका छन् । हामी पनि त्यसैअनुसार तयारी गरेका छौं । खेलाडीबिचको तालमेल राम्रो छ ।’

कप्तान, रवि सिलवाल

‘लिगको तयारीका लागि छोटो समय मात्र प्रशिक्षण गर्न पायौं तर तयारी राम्रो छ । आफ्नै प्रशिक्षण मैदान रहेकाले प्रशिक्षण गर्न सजिलो छ । होस्टेल पनि भएकाले राम्रो तयारी गर्न पाएका छौं ।’

च्यासल युथ क्लब,

प्रशिक्षक, बालगोपाल साहुखल

‘अहिले टोलीमा युवा खेलाडी धेरै छन् । खेलाडीहरु निकै उत्साहित छन् । मुख्य कुरा सन्तुलित टोली बनाउँदै छौं । युवा खेलाडी धेरै भएकाले हामीले ठुलो लक्ष्य राखेका छैनौं । लिग तालिकाको मध्यमा रहने योजना छ । दुई अफ्रिकन अनुभवी छन् र इटालीबाट विकाश मेराग्लिया आएका छन् । उनी राम्रो खेलाडी भए पनि युवा नै छन् र इटालीको पनि युवा टोलीमै रहेकाले उनको प्रदर्शन यस्तै हुन्छ भन्न सम्भव छैन् । पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखल आउने कुरा छ तर हालसम्म तय भने भइसकेको छैन ।’

कप्तान, विराज महर्जन

‘गत सिजन लिग जित्दा मच्छिन्द्रको सदस्य थिए । यसपाली च्यासलमा आएको छु । टोली मध्यम स्तरको छ । तर पनि कडा चुनौती दिनेछौं । शीर्ष चारसम्म पुग्ने लक्ष्य राखेका छौं ।’

जावलाखेल युथ क्लब 

प्रशिक्षक, किशोरकुमार केसी

‘लिगको चौथो स्थानमा वा त्यो भन्दा माथी रहदै प्रतियोगिता अन्त्य गर्ने लक्ष्य छ । 
भारतीयसहित विदेशी खेलाडीसँग टोलीका घरेलु खेलाडीको समन्वयन राम्रो देखिएको छ ।’ 

कप्तान, कुलदिप कार्की

‘लिगका लागी हालसम्मको तयारी राम्रो छ । हामी मानसिक र शारिरीक रूपमा पनि तयार छौं । मनाङसँग खेल्ने भन्ने बित्तिकै डर छैन । पहिलो खेल नभएको भए पनि हामीले खेल्नै पर्थ्यो । मनाङविरुद्ध खेल्न हामीमा डर पनि छैन र उत्साहित पनि छैनौं ।’

एनआरटी क्लब

प्रशिक्षक, राजुकाजी शाक्य

‘लिगका लागि तयारी राम्रो छ । प्रशिक्षणका लागि मैदानको समस्या भयो । त्यसबाहेक अरू राम्रो छ । तयारीको समय कम भए पनि सक्दो उत्कृष्ट दिने हाम्रो लक्ष्य छ । हामी सकेसम्म उपाधि जित्ने प्रयासमा हुनेछौं तर नसके शीर्ष चारमा रहने लक्ष्य छ ।’

कप्तान, अजित प्रजापती

‘टोली पछिल्लो सिजनको भन्दा राम्रो बन्दै गएको छ । युवा खेलाडीहरूको उपस्थिती राम्रो छ । विदेशी बलियो खेलाडी छन् । प्रतियोगिताको सबैभन्दा राम्रो मच्छिन्द्र जस्तो छ । हामीले गत वर्ष पनि राम्रो चुनौती प्रस्तुत गरेका थियौं । यो वर्ष पनि त्यसैलाई निरन्तरता दिनेछौं ।’

फ्रेन्ड्स क्लब, 

प्रशिक्षक, मृगेन्द्र मिश्र

‘हामीले ४० दिन प्रशिक्षण गरेका थियौ । ए डिभिजन लिगमा बच्ने र रेलिगेसन जोनबाट जोगिने यहीं लक्ष्य हुनेछ । हामी 
६–७ स्थानसम्म आउने प्रयास गर्नेछौ । खेलमा जुन विपक्षी पनि बलियो हुन्छन् । नयाँ क्लब हो, नयाँमा अझ जोस र जाँगर हुन्छ । भोलिको खेल गाह्रो नै होला ।’

कप्तान, सुरज विक

‘हाम्रो टोलीको तयारी राम्रै छ । दबाब सबैमा हुन्छ । कप्तानलाई अझ बढी दबाब हुन्छ तर त्यसलाई सम्हालेर मैदानमा उत्रिने छौ । भोलिको खेलमा औसत टोली छ । सातदोबाटोलाई हामीले कम मानेका छैनौं । ३ अंक हासिल गर्ने योजना छ ।’


सातदोबाटो युथ क्लब,

प्रशिक्षक मेघराज केसी

‘पहिलो पटक ए डिभिजन लिग खेल्दै छौ । अरु क्लबको जस्तो कसरी खेल्ने त्यसको ज्ञान छैन । हामी लिग खेल्न धेरै उत्साहित छौ । हामीले अरू क्लबले जसरी लिगलाई हेर्दा गाह्रो हुन्छ भनेर क्लबसँग कुरा भएको छ । लिगको लागि चार महिना तयारी गर्यौं । राम्रो नतिजा दिनका लागि धेरै मिहिनेत गरेका छौ । अनुभवको कुरामा हामीले फरक कुरामा तयारीलाई विशेष ध्यान दिनेछौ । 
हामी यो लिगमा नयाँ क्लब हो भनेर कसैलाई पनि त्यस्तो महसुस हुन नदिने प्रण गर्छाै । ए डिभिजन लिग खेल्न पाउनु नै ठूलो कुरा हो । त्यसमा पनि उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउनु ठूलो कुरा हो । कुन–कुन कुरामा सुधार गर्नुपर्छ सबैसँग खेलेपछि थाहा हुन्छ । दुई–तीन खेल खेलेपछि नजर परिवर्तन गर्छौं ।’

कप्तान, मान बहादुर तामाङ
‘हिमालयन शेर्पाबाट यहाँ आउँदा यो कुरालाई चुनौतीको रुपमा लिएको छु । आफूलाई प्रमाणित गर्ने अवसरको रूपमा पनि हेरेको छु । लिगमा क्लब नयाँ भएकोले मेरो अनुभवहरु बाँडेर क्लबलाई माथि पुर्‍याउने प्रयास रहनेछ । विदेशी खेलाडी पिटर र मार्टिन्सको प्रभावले युवा खेलाडीलाई मोटिभेसन भइरहेको छ ।’

ब्रिगेड ब्वाइज क्लब, 

प्रशिक्षक, सनोज श्रेष्ठ

‘यसपाली हामी गत संस्करणलाई सुधारेर राम्रो नतिजा ल्याउने तयारीमा छौं । उत्कृष्ट नतिजा दिने योजनमा छौं । प्राय धेरै खेलाडी युवा छन् । नतिजा राम्रो दिने अपेक्षा राखेका छौं ।’

कप्तान, अनिल गुरूङ

‘विगतको कमीकमजोरीलाई सुधार गर्दै तयारी गरेका छौ । पहिलेको भन्दा राम्रो नतिजा दिने छौ । लिगमा यहीं लक्ष्य भन्ने छैन टोलीमा सिनियर भन्दा उमेर समूहमा खेल्ने धेरै खेलाडी टोलीमा धेरै हामीसँग छन् ।’