कतार विश्वकप २०२२

अर्जेन्टिनी प्रशिक्षकको गर्विलो क्षण

ब्युनस आयर्स । अर्जेन्टिनाले कतार विश्वकपमा स्थान सुरक्षित गरेसँगै टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले प्रशिक्षणको ‘उत्कृष्ट वर्ष’ भएको बताएका छन् ।

विश्वकप छनोटअन्तर्गत बुधबार बिहान ब्राजिलसँग गोलरहित बराबरीमा खेलेपछि अर्जेन्टिनाले अर्को वर्ष कतारमा हुने विश्वकपको टिकट काटेको थियो ।

‘यो मेरो प्रशिक्षणको उत्कृष्ट वर्ष रह्यो । कोपा अमेरिका जित्नु र अपराजित रहदै विश्वकपमा छनोट हुनु, यो एक सपना थियो । हामीले दुई (ब्राजिल, उरुग्वे) कठिन प्रतिद्धन्द्धीहरुबाट चार अंक जोड्यौं,’ स्कालोनीले भने, ‘पक्कै पनि हामी ब्राजिलविरुद्धको खेल जित्न चाहन्थ्यौं तर यस प्रकारको खेलले टोलीलाई परिपक्व बनाउँछ । विश्वकपमा केही खेलअगावै छनोट हुनु निकै कठिन काम हो । तर, हामीले यो पूरा गर्यौं । यो निकै गर्विलो कुरा हो ।’

ब्राजिलसँग बराबरी खेलेसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई २७ खेलसम्म लम्ब्याएको छ । पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि चुमेको अर्जेन्टिना आसन्न विश्कपमा दक्षिण अमेरिकाबाट स्थान पक्का गर्ने दोस्रो टोली हो । यसअघि ब्राजिलले विश्वकपको टिकट काटिसकेको थियो ।

छनोटका १३ खेलबाट ३५ अंक जोडेको ब्राजिल तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान खेलबाट २९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ । छनोटमा दुवै टोली हालसम्म अपराजित छन् ।